अनलाइन क्लास: बजारमा ल्यापटप र मोबाइल पाइन छाडे

अनलाइन क्लास: बजारमा ल्यापटप र मोबाइल पाइन छाडे

स्कूल/कलेजले लकडाउनमा ‘अनलाइन क्लास’ शुरू गरेपछि लकडाउन खुकुलो हुना साथ बजारमा ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको छ।

अनलाइन क्लास शुरू गर्न ल्यापटप र मोबाइल आवश्यक पर्छ तेसैले ल्यापटप र मोबाइल किन्नेको संख्या दिनानुदिन बढिरहेको छ। तर आजकाल बजारमा ल्यापटप, मोबाइल जस्ता ग्याजेट्सको माग सामान्य अवस्थाको दाँजोमा ६० प्रतिशतले बढेको छ।

ताम्राकार प्लाजाका व्यापारी राजेशसिंह ठकुर “छोराछोरीको मागअनुसार ल्यापटप र मोबाइल किन्न आउनेको संख्या बढिरहेको छ। अनलाइन क्लासले गर्दा पहिला ध्यान नदिनेले पनि आजकाल यस्ता ग्याजेट्स किन्नुपर्ने भएकाले बजारमा अभाव हुन थालिसक्यो,” भन्छन्।

ठकुरीले पछिल्लो दुई सातामा ६२ वटा ल्यापटप बेचिसकेको देखापढीलाई बताए।

“लकडाउनपछि पसल खोलेको धेरै भएको छैन। तर, यहीबीचमा ६२ वटा ल्यापटप बिक्री भइसक्यो। अब पसलमा ल्यापटप सकिन लागेको छ।’

ताम्राकार प्लाजाकै छेउमा रहेको ल्यापटप पसलका सञ्चालक इन्द्रजीत शर्माको अनुभव पनि यस्तै छ। पछिल्ला केही दिनमा ४० वटाभन्दा बढी ल्यापटप बेचिसकेका शर्मा भन्छन्, “सायद अनलाइन क्लासको कारणले ल्यापटपको माग बढेको हुनसक्छ।”

पछिल्लो समय चीनबाट सामान नआउनु तथा भएको सामान बिक्री हुँदा अभाव बढेको हो। त्यहीकारण ग्राहकको मागअनुसारका ल्यापटप ल्याउन नसकेको उनीहरू बताउँछन्।

ताम्राकार प्लाजाकै दोस्रो तल्लामा मोबाइल पसल सञ्चालन गरिरहेका पुरुषोत्तम सुवेदीको पसलमा मोबाइल किन्न आउनेले भीड आजकाल बढेको छ। भएका मोबाइल बिक्री भइसके। मागअनुसारका नयाँ ल्याउन नपाएकाले अभाव हुन थालेको छ।

“डिलरलाई पैसा तिरेर आएको एक साता भइसक्यो। तर वाहिरबाटै आएको छैन भनेर अझै पाउन सकिएको छैन,” उनले भने।

क्यानका उपाध्यक्ष रञ्जित पोदारको अनुभव पनि उस्तै छ। लकडाउन खुकुलो भएसँगै बजार खुल्न थालेपछि मोबाइल र ल्यापटपको माग थेग्न कठिन हुन थालेको उनले बताए।

अनलाइन कक्षा सञ्चालन हुन थालेपछि घरमा जति विद्यार्थी छन्, त्यतिकै संख्यामा मोबाइल, प्याड वा ल्यापटप चाहिने भएकाले थेग्न गाह्रो भएको उनको बुझाइ छ।

“एउटाले काम चलाउँछु भन्ने अवस्था रहेन। बच्चालाई यस्ता ग्याजेट्स प्रयोग गर्न नदिने अभिभावक पनि आजकाल आफैले किनेर चलाउन सिकाउन बाध्य भएका छन्,” उनको तर्क छ।

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहँदा नेपालमा ल्यापटप, प्याड र मोबाइल आयात गर्न सकिएको छैन। “त्यसले गर्दा अभाव बढेको हो,” पोदार भन्छन्।

अझै एक हप्तासम्म नेपाली बजारमा ल्यापटप र मोबाइलको आपूर्ति सामान्य अवस्थामा नफर्किने व्यवसायीहरू बताउँछन्।

अर्को सातासम्म सडक मार्ग हुँदै सामान ल्याउने सम्भावना नरहेकाले कम्तिमा एक साता बजारमा ल्यापटप र मोबाइलको अभाव हुने पोदारले बताए।

“सरकारी शैक्षिक संस्थाले ठूलो मात्रामा ल्यापटप खरीद गरिरहेका छन्। जसले आयात ठप्प भइरहेको बजारमा दोहोरो चाप पर्‍यो”, पोदारले भने। बजारमा पर्याप्त सामान नहुँदा ग्राहकले रोजेको ल्यापटप र मोबाइल पाइन छाडेको छ।

पहाडी जिल्लाका अधिकांस विद्यालयमा ल्यापटप पुर्‍याउने सातै प्रदेशका सरकारले विद्यालयलाई प्रविधिमैत्री बनाउन चालू आर्थिक वर्षमा लक्ष्य लिएको थियो|

त्यहीअनुसार छुट्याइएको बजेट खसारमा खर्च गरिँदा पनि ल्यापटपको माग बढेको व्यावसायीहरूको बुझाइ छ।

COMMENTS

WORDPRESS: 0