“एक आभा, एक आशा” – कुलमान घिसिङ

0
151
kulman ghishing
kulman ghishing

Nepal Online Patrika | Kathmandu: निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।

आफ्नै कर्म, लगाव र सर्मपणले श्रेष्ठ बनायो, उनलाई । आज तीन करोड नेपालीको स्पन्दनमा उनको जीवन–संगीतको धुन बज्छ । कुलमान घिसिङले कसरी आर्जन गरे यतिविध्न प्रेम र श्रद्धा ? कुनै प्रतियोगिता जितेर यस्तो श्रेष्ठता हासिल गरेका होइनन् । मनग्ये दान–दक्षिणा दिएर यस्तो यश कमाएका होइनन् । नेतागिरी गरेर, हिरोइज्म देखाएर, धन–वैभव प्रदर्शन गरेर यस्तो इमान बटुलेका होइनन् । त्यसो भए उनले के गरे ?

उनले त्यस्तो केही गरेनन्, जो उनी अघिका हर्ताकर्ताहरुले गरे । उनले त त्यती मात्र गरे, जो उनको जिम्मेवारी थियो । अर्थात आफ्नो जिम्मेवारीलाई पूर्णताका साथ पुरा गरे । श्रीमदभागवत गीतामा एउटा वाक्यांश छ, ‘योगः कर्मशु कौशलम् ।’ जब कामप्रति गहिरो अभिरुची हुन्छ, तब कर्ममा कुशलता प्राप्त हुन्छ । अतः यसका निम्ति कर्ममा एकसाथ मन, बुद्धि र शरीर (क्रिया) तीन वटा कुरा समावेश हुनुपर्छ । कुलमानले यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे ।

कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए, गए । तर, तिनीहरुले कुर्सीको इमान जोगाएनन् । बरु आफ्नो दायित्वबाट विमुख भए । एउटा धूर्त जत्थाको लुकामारीमा भुलेर मुलुकलाई आँध्यारो बनाए । अकुत धन–दौलत थुपारे । त्यही कृत्यको कारण आज उनीहरुको अनुहारको चमक हरयो, जसरी हिजो मुलुकको उज्यालो हराएको थियो । चरम ग्लानी, भय, पछुतो र अपराधबोधले कक्रक्क गले ।

तर, कुलमान घिसिङ?

उनको अनुहार त ओजपूर्ण र दिव्य छ । सगर्वले चौडा छ छाती । कार्य–कौशलले नृत्यवत् छ शरीरका अवयवहरु । लोभ, मोह, भय, कुष्ठा जस्ता विकारबाट मुक्त उनी एक कर्मयोगी हुन् ।

लोडसेडिङ : एक कालो साम्राज्य

लोडसेडिङको तालिका हेरेर भात पकाउनुपर्ने । बत्ती आउने पालो कुरेर काम गर्नुपर्ने । उज्यालो पर्खेर लेखपढ गर्नुपर्ने । बिजुली–बत्ती नहुँदाका दिनहरु कति उराठलाग्दो ? कति उकुसमुकुस ? कति छटपटी ?

र, यसैले पैदा गरिदिए चिन्ता, निरासा, डिप्रेसन, पलायन अनि आत्महत्या ।

कतिको कार्य–तालिका विथोलियो । कतिको उद्योग–धन्दा चौपट भयो । कतिको औषधि–उपचार छुट्यो । कतिको पढाई बिग्रियो । कतिको गाँस खोसियो । गहिरो अनिश्चिता र अन्धकारले खर्लप्प निल्यो मुलुककै खुसी, उमंग, उर्जा । कर्मठ हातहरु लुला भए । जाँगरिला मनहरु शिथिल भए । उर्बर मस्तिष्कहरु पलायन भए । मुलुक मरुभूमी भए ।

यो अँध्यारो साम्राज्यभित्र एक जत्था धूर्त भने जागा रहे, जो जेनसेट (क्याटिभ प्लान्ट) देखि जेनेरेटर, सोलार, इन्र्भटर लगायतका धन्दामा सल्बलाइरहे । यसमा धुर्त कर्मचारी, दलाल व्यापारीदेखि भ्रष्ट नेता–मन्त्रीहरुसम्मले आपसमा कानेखुसी र अंकमाल गरे । त्रस्त र निरास समाजमाथि उपरखुट्टी लगाएर ‘उज्यालोको’ मोलमोलाई गरिरहे ।

काठमाडौं लगायत शहरी क्षेत्रमा ६ सय मेगावटभन्दा बढीको जेनसेट जडान गरी प्रति युनिट ३५ रुपैयाँमा बिद्युत बेचे । आव ०७२÷७३ मा मात्र तीन अर्ब २५ करोड रुपैयाँको विद्युतिय जेनेरेटर बेचे । सोही अवधीमा १२ लाख २५ हजार थान त इन्भर्टर नै नेपाल ल्याएर बेचे । तीन अर्ब रुपैयाँ बढीको जेनेरेटर बेचे ।

विज्ञहरु भन्छन्, ‘नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रणाली सञ्चालक र व्यवस्थापकले अनियमित रुपमा सीमित उद्योग, हुनेखाने, पहुँचगवालालाई विद्युत दिएर सर्वसाधरणलाई भने १८ घण्टासम्म अँध्यारोमा राखे ।’ यिनीहरुले विद्युत आपूर्ति प्रणालीलाई नै यस्तो जटिल र असहज बनाइदिए कि, सर्वसाधरणका लागि उज्यालो एक मृगतृष्णा भइदियो ।

एक कर्मयोगीको पर्दापण

‘अराजकता, भ्रष्टचार, बेथीति, हिंसा, बलात्कार सजिलै नियन्त्रण गर्न सकिन्थ्यो । तर, तपाईंले यसलाई अरु आश्रय र बढाव दिनुभयो । यसकारण कि, सर्वसाधरणको चित्कार र पीडाभन्दा तपाईंको निम्ती कुर्सी प्यारो थियो’ एक टेलिभिजन प्रस्तोता स–प्रमाण मूख्यमन्त्रीमाथि प्रश्न उठाउँछन् ।

मूख्यमन्त्री आक्रोसित भावमा भन्छन्, ‘मेरो कुर्सीमा आगोको राप छ, मेरो टाउकोमा तिखा किलाहरु छन् । मकहाँ दिनदिनै यस्ता समस्या लिएर कति आउँछन् कति । उनीहरुको कारण म वेचैन र चिन्तित छु । के यहाँ बसेर अन्र्तवार्ता लिएजस्तो सजिलो ठान्छौं ?’ उनी चुनौती दिन्छन्, ‘एक दिन, मात्र एक दिनका लागि सिएम बनेर देखाउ । त्यसबेला म यसैगरी तिम्रो अन्र्तवार्ता लिनेछु ।’

अन्ततः टेलिभिजन प्रस्तोता २४ घण्टाका निम्ति राज्यमन्त्री बन्छन् । दृढतापूर्वक अनि तिब्रताका साथ आफ्नो काममा खटिन्छन् । आखिर तोकिएकै अवधिभित्र जादुयी ढंगले सम्पूर्ण बेथीति हटाउँछन् । नयाँ व्यवस्थाको आरम्भ गर्छन् ।

हिन्दी चलचित्र ‘नायक’को सार हो यो । कुनैपनि प्रणालीलाई जटिल र अहसज बनाएर झुट अनि लुटको धन्दा चलाउनेहरुलाई यसले नाङ्गेझार बनाएको छ ।

केही बर्षअघिसम्म विद्युत प्राधिकरणले यस्तै कुटिल चालबाजी खेलिरहेको थियो ।

पुग्दो विद्युत छैन ।

पानी सुकेका कारण विद्युत उत्पादन भएन ।

१८ घण्टासम्म लोडसेडिङ हुनेछ ।

उपभोक्ताले धेरै बिजुली खपत नगरौ

तर त्यही कुर्सीमा जब कुलमान घिसिङ बस्न आइपुगे उनले उमंगमय उद्घोष गरे, ‘धक फुकाएर बिजुली बाल्नुहोस् ।’

२०७३ साल । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक भए । तिहारको संयोग । मुलुकमा सर्वाधिक विद्युत खपत हुने दिन, लक्ष्मीपूजा । सबै पेशा÷व्यवसायी चाडपर्वको मुडमा फुर्सदिला दिन कटाउने मेलोमेसोमा लागे । तर, कुलमानको ध्याउन्न एउटै कुरमा थियो, ‘कसरी तिहारमा मुलुकभर निरन्तर विद्युत आपूर्ति गर्ने ?’

बितेका बर्षहरुमा तिहार अन्धकारमै गुज्रियो । सर्बसाधरणमा एक किसिमको भय र बेचैनी थियो, ‘यसपाली पनि त्यस्तै होला ।’ तर, त्यसो भएन ।

न चाडपर्व, न घर–परिवार, न बिदा, न सुविधा । कुलमान घिसिङ रातभर जाग्रम बसे । सबै तिहारको मादक माहौलमा रमाइरहेका बेला उनी स्युाचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्रमा पुगे । विभिन्न वितरण केन्द्रहरुमा पुगे र त्यहाँका प्राविधिक अवस्था जाँच गरे । जहाँ विद्युत आपूर्तिमा समस्या हुन्छ, त्यहाँ मर्मतका लागि तत्काल दौडिने जनशक्ति तयारी अवस्थामा राखे ।

जुन दिन सर्वसाधरण घरमा धन–ऐश्वर्य भित्र्याउने कामना सहित दियो–बत्ती जलाउँदै थिए, त्यही दिन कुलमानले सबैको घर–आँगन धपक्कै बालिदिए ।त्यसपछिका दिनमा विद्युत प्राधिकरणको शब्दकोषबाट नै हट्यो, लोडसेडिङ ।

कुलमानलाई बर्षौंदेखि गाँठो परेको एउटा प्रश्न सोधिने गर्छ, ‘कसरी हटाउनुभयो लोडसेडिङ ?’ उनको जवाफ सरल छ, ‘हाम्रा आयोजनाहरुबाट जति विद्युत उत्पादन हुन्छन्, त्यस अनुरुप माग र आपूर्तिको सन्तुलन मिलाइएको हो ।’ उनी आफुले जादु गरे भन्ठान्दैनन् । उनी त के मात्र भन्छन् भने, ‘मैलै आफ्नो काम इमान्दार र कुशलतापूर्वक गरेको हुँ ।’

कुलमान घिसिङ निर्धक्कसाथ भनिरहेका छन्, ‘मनग्ये बिजुली बाल्नुहोस् ।’ त्यती मात्र होइन, हरेक घर र मुलुकलाई नै विद्युतमैत्री बनाएर छलाङ मार्ने तत्परता देखिन्छ उनको कार्यशैलीमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here