Connect with us

नेपाल

‘छोरीले डाक्टर बन्छु पैसा जम्मा गर्नु भन्छे, आफूले खानै पाएको छैन’

उनको हातमा नाम्लो र ढाडमा पिठोको बोरा टाँसिएको छ। यो बोरामा पिठो छैन। भारी बोक्दा ढाड नदुखोस् भनेर राखिएको ‘कवच’ हो। यो कवचवाहक हुन् सन्तबहादुर परियार।

Published

on

वि सं २०७७ भाद्र २३ मंगलवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: उनको हातमा नाम्लो र ढाडमा पिठोको बोरा टाँसिएको छ। यो बोरामा पिठो छैन। भारी बोक्दा ढाड नदुखोस् भनेर राखिएको ‘कवच’ हो। यो कवचवाहक हुन् सन्तबहादुर परियार।

दिउँसो करिब ३ बजे खुलामञ्चको पारिलो घाममा बसेका छन् उनी। त्यो घामको न्यानो सन्तबहादुरको आँतसम्म पुगेको छैन। आफ्ना पट्पटी फुटेका हातले पिठो नपुगेको पेट छाम्दै कसैलाई कुरिरहेका छन्।

‘जिन्दगीभर आफ्नै पाखुरा बजारेर बाँचियो। हिजोआज हात मुख जोड्न अरूको आश गर्नु परेको छ,’ उनी आफ्ना हातले खुट्टामा लागेको चोट सुम्सुम्याउँदै भन्छन्।

खुलामञ्चमा आजभोलि साँझ केही सहयोगी हातहरूले खाना खुवाइरहेका छन्। मजदुर र असहायहरू बेलुकी कति खेर खाना आउला र भोको पेट सेकाउँला भनेर बिहानैदेखि पर्खेर बस्छन्।

सन्तबहादुर यही भिडको प्रतिनिधि हुन्।

गोरखाका सन्तबहादुरको अर्को परिचय पनि छ- कमरेड सञ्जय।

यो नाम उनी पूर्व माओवादी पार्टीमा लाग्दा पाएका हुन्।

हुन त उनी बन्दुक बोकेर सशस्त्र युद्धमा होमिएनन्। ५ कक्षासम्म मात्र पढेका उनलाई भाषण गर्न पनि कहिल्यै आएन। घरबार छोडेर पार्टीकै काममा पनि कहिल्यै नहिँडेको बताउँछन्।

६ जनाको परिवार पाल्ने जिम्मेवारी उनको काँधमा थियो। गाउँमा पार्टीको‍ कार्यक्रम हुँदा ताली बजाउन भने अनिवार्य उपस्थित हुन्थे। नेता-कमरेडहरूलाई भेट्दा मुठ्ठी बटारेर ‘लाल सलाम’ गर्न पनि जानेका रहेछन्।

यो लाल सलाममा मन बस्नुका पछाडि अर्को कारण छ। त्यति बेला माओवादी नेता-कमरेडहरूले गर्ने भाषणमा सन्तबहादुरलाई मनपर्ने शब्द रहेछ ‘समानता’।

‘मैले सानैदेखि हामीलाई दलित भनेर हेपेको अनुभूति गरेको छु। कमरेडहरूले जातपात भनेको सामन्तीले बनाएका हुन्, हामी सबै एउटै हो भनेको सुन्थेँ। अनि त माओवादी मनपर्न थाल्यो। म त कट्टर माओवादी हो नि सर,’ उनले भने।

सिमान्तकृत नागरिकहरूलाई समानता दिलाउन भनेर १२ वर्ष लामो शसस्त्र द्वन्द्व गरेका नेता-कमरेडहरूले अहिले सरकार चलाइरहेका छन्। तर आफूजस्ता कमरेडहरूका दिन भने कहिल्यै नफिरेको उनले महशुस गरेका छन्।

त्यही पनि उनलाई गुनासो छैन। भन्छन्, ‘के गर्नु गुनासो गरेर पनि।’

यसैले त उनी खुरुखुरु भारी बोकेर जीवन चलाइरहेका थिए। जैसीदेवलमा चार जना साथीसँग मिलेर कोठा लिई बसेका थिए। ‘आर-बी कम्प्लेक्स’ मा कपडाको भारी बोक्ने काम गर्थे। कमाइ राम्रै हुन्थ्यो।

‘कहिलेकाहीँ २ हजारसम्म कमाउँथेँ। नभए पनि दिनको एक हजार त कतै जाँदैन थियो,’ उनी सुनाउँछन्।

यसरी दिनभर पिठोको बोराको कवच लाएर कमाएको पैसा नियमित घरमा पठाउँथे। जग्गा-जमिन नभएकाले परिवार पनि उनले पठाएकै पैसाका भरमा चलिरहेको थियो। चार छोरीलाई राम्ररी पढाउन पुर्‍याएकै थिए।

‘जेठी छोरी ९ मा पढ्छे। पढाइमा तगडा छे। यसपालि तेस्रो भइछे। म डाक्टर बन्ने हो बा, पैसा जम्मा गर्नु भनेकी छे। खाने पैसा त छैन, अब कसरी जम्मा गर्ने तेत्रो पैसा,’ उनी निरश सुनिए।

माइली छोरी भने सामान्य छिन् रे पढाइमा। साइँलीलाई इन्सपेक्टर बनाउने सपना बोकेका छन्।

‘कान्छी पनि यसपालि २ कक्षामा चौथो भएकी छे,’ छोरीहरूको सफलता सम्झिँदा आँखा चम्किला भए उनका।

कोरोना महामारीको चर्चा सुनेपछि घरबाट तारन्तार फोन आउन थाल्यो। ज्यान रहे त पैसा पछि पनि कमाउन सकिन्छ भन्ने सोचेर चैत ९ गते गोरखा हानिएका थिए। लकडाउनका कारण लामो समय उतै थुनिए।

वर्षभरी खान पुग्ने जग्गा-जमिन छैन। लकडाउन सदुपयोग गर्दै अरूको बाँझो खेतमा धान रोपे। पानी परेकाले यो वर्ष ६ महिनाको खाद्यान्न उब्जनी हुनेमा ढुक्क छन्।

‘गाउँमा अलि अलि भएको पैसा सकिँदै गयो। त्यसपछि काठामाडौं आएर काम नगरी सुखै भएन,’ उनले भने।

रोगबाट आफ्नो ज्यान जोगाउन गाउँ गएका सन्तबहादुरसँग भोकबाट परिवारै जोगाउन फेरि काठमाडौं फर्कनुको विकल्प भएन। १५ दिनअगाडि उनी काठमाडौं आएका हुन्।

गाडीले नागढुङ्गासम्म ल्याइदियो। त्यहाँबाट भने उनी हिँडेरै जैसिदेवलस्थित कोठा पुगे। तर ‘गाउँबाट रोग ल्यायो’ भनेर घरबेटीले छिर्नै दिएनन्। त्यही दिन उनले अस्पताल गएर कोरोना परीक्षण गराए। त्यो रात कालीमाटीको सडक पेटीमा बिताए।

‘म पहिले कालीमाटीको तरकारी बजारमा काम गर्दा केही साथी पेटीमै सुत्ने गरेको थाहा थियो। त्यही भएर म त्यहीँ सुतेँ। तर भोलिपल्ट रिपोर्ट लिएर जाँदा पनि घरबेटीले १४ दिन अन्तै क्वारेन्टिन बसेर आउनू भने। अनि मैले कोठै छोडिदिएँ र ढुक्कै पेटीमा सुत्न थालेँ,’ उनले भने।

आर-बी कम्प्लेक्सको काम बन्द भइहाल्यो। सन्तबहादुरले कालीमाटीमै तरकारी बोक्न थाले।

‘काम पायो भने बेलुका ६ बजेदेखि बिहानसम्म काम गर्छु। एकछिन पल्टिन्छु। अनि सिधै खुलामञ्च आउँछु,’ उनी भन्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता खाना खान नपाएर मर्दैनन् भनेर दिएको भाषण पनि सुनेका रहेछन् उनले। उनी त्यही भाषण सम्झन्छन्, ‘खै हामीलाई त खाना खानै अरूको भर पर्नु परेको छ। उहाँले कहाँको जनताको कुरा गर्नु भयो कुन्नि?’

खुलामञ्चसम्म आउन पनि कहाँ सजिलो छ र उनलाई। कुनै कुनै प्रहरीले ‘निषेधाज्ञामा किन हिँडेको’ भनेर गाली गर्छन्। कोहीले ‘रोग सार्न हिँडेको’ भनेर आरोप पनि लगाउने रहेछन्।

सन्तबहादुरलाई यो गालीको भन्दा बढी डर अर्कै छ- कालीमाटीमा ढाड-हात पिल्स्याएर कमाएको पैसा जोगाउने।

‘हिजो राती एउटा काम गरेर २ सय ५० रूपैयाँ कमाएको थिएँ। थकाइ लागेर एकैछिन पेटीमा पल्टिएको, कुन चाहिँले चोरी दिएछ,’ शुक्रबार सेतोपाटीसँग कुराकानीमा उनी दुखी सुनिए, ‘पहिले पहिले त आर-बी कम्प्लेक्सको साहुलाई राख्न दिन्थेँ। अहिले कसलाई दिनु?’

तर सन्तबहादुरलाई आफूले भोगेका यी सबै झमेलाभन्दा बढी पिरोल्ने छोरीहरूको चिन्ताले हो।

जेठी छोरीले डाक्टर बन्ने सपना देखेकी छन्। काठमाडौं हिँड्ने बेलामा कान्छी छोरीले भनेका शब्दले झनै मुटु खान्छ।

‘कान्छीले दसैंमा लगाउने नयाँ कपडा र उसको साथीले बोकेजस्तै दुलही गुडिया ल्याइदिनु है भनेकी छे। अरू छोरी त बुझ्ने भइसके, कान्छीलाई के जवाफ दिनु,’ एकछिन अँध्यारो मुख लाएर घोत्लिए उनी।

‘तर सास रहेसम्म कोशिस त गर्छु म,’ छोरीहरू र उनीहरूका सपना सम्झेझैं गरी उनले भने।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending