इज्जत कमाउन सिक्नुहोस, पैसाले त मात्र तपाईको भौतिक सुख मात्र पुरा गर्दछ

0
126

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ? किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।

त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।

हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् ।

खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।

पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।

यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ । नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ? वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।

खुशी कहाँ खोज्ने त ?

खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ?

जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।

जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।

यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।

खुशी हुनका लागि घ्यान दिनुपर्ने कुराहरु :

१. गहिरो सास लिने गर्नुस्: दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ । गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।

२. चाहना कम गर्नुस्: चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

३. धेरै महत्वाकांक्षा नराख्नुस्: कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महवाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महवाकांक्षी नबन्नुस् ।

४. मुस्कुराउनुस्: हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

५. ऐना हेर्दा खुशी हुनुस्: ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।

६. अरूले चाहेजस्तो नबन्नुस्: अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पुर्याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

७. लाज नमान्नुस्त: पाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।

८. सिर्जनात्मक काममा लाग्नुस्: लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।

दाम्पत्य जीवनमा एक-अर्कालाई धेरै हेरविचार नगरौ, धेरै हेरविचारले सम्बन्ध टुट्न सक्छ:

इमान्दारिताले सम्बन्धमा माधुर्य ल्याउँछ । यसले जीवनका अनेकौं कठिनाइलाई हाँसीखुसी पार लगाउन सहयोग गर्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध साह्रै कोमल हुन्छ । यो सम्बन्ध कायम राख्न आपसी विश्वास, माया, आदर तथा सम्मान आवश्यक छ । इमान्दारिताले सम्बन्धमा माधुर्य ल्याउँछ । यसले जीवनका अनेकौं कठिनाइलाई हाँसीखुसी पार लगाउन सहयोग गर्छ ।

कतिपय कुरामा श्रीमान्–श्रीमतीको गलत सोचले उनीहरूको दाम्पत्य जीवनको उत्साह सेलाउँदै जान्छ । धेरैजसो महिला श्रीमान्सँग बढीभन्दा बढी समय बिताउन चाहन्छन् । उनीहरू आफ्ना श्रीमानका स–साना आवश्यकता पूरा गर्न लागिपरेका हुन्छन् । यद्यपि धेरै ध्यान दिने बानीले कहिलेकाहीँ सम्बन्धमा चिसोपन ल्याउँछ ।

धेरैको मानसिकता श्रीमान् तथा श्रीमतीले एक–अर्काप्रति बढी ध्यान दिए दाम्पत्य जीवन सफल हुन्छ भन्ने छ तर सम्बन्ध दिगो तथा सफल बनाउन चाहिने भन्दा बढी चासो दिनाले त्यसले सम्बन्धको अन्त्य पनि गर्न सक्छ । श्रीमान्–श्रीमतीको ओभर केयरिङले एक–अर्कालाई नजिक ल्यानुभन्दा टाढा पुर्‍याउँछ । यसले मीठो सम्बन्धलाई पनि तीतो बनाउँछ ।

फरक मानसिकता:

नेपाली समाजमा छोरीलाई सानैदेखि घरको कामकाज सिकाउने चलन छ । यो एक हिसाबले राम्रो पनि हो । कारण उनीहरू आफ्नो काम आफै गर्न सक्ने हुन्छन् तर यसका साथमा उनीहरू घरका पुरुष सदस्यको आराम तथा उनीहरूको सुविधाको ध्यान राख्नुपर्छ भन्ने पारिवारिक वातावरणमा हुर्कन्छन् । छोरीले सानै उमेरदेखि घर तथा वरपरको समाजमा आफ्नी आमा तथा समाजका अरू महिलाले बुवा तथा उसका घरमा भएका दाजुभाइको हेरविचार गरेको देखेकी हुन्छे फलस्वरूप विवाहपछि महिलाका लागि हरेक कुरा श्रीमान् हुन्छ ।

श्रीमान्लाई खुसी राख्न उसको हरेक कुरामा ध्यान दिने तथा बढीभन्दा बढी समय श्रीमान्सँग बिताउने चाहना हुन्छ । यद्यपि यो व्यवहारलाई श्रीमान्ले नकारात्मक रूपमा पनि लिन सक्छन् । यसले गर्दा सम्बन्ध बिग्रदै जान्छ । त्यसैगरी हाम्रो समाजमा छोराहरूलाई स्वतन्त्र रूपमा छोडिएको हुन्छ । उनीहरूलाई आफ्नो स्वतन्त्रता सबैभन्दा प्यारो हुन्छ । विवाहपछि श्रीमतीले स–साना कुरामा गर्ने प्रश्न तथा रोकटोकले उनीहरूलाई दिक्क लगाउँछ । त्यसैले सम्बन्धमा पर्सनल स्पेस आवश्यक छ ।

सन्तुलित व्यवहार:

श्रीमान्–श्रीमतीले एक–अर्काप्रति सन्तुलित व्यवहार गर्नुपर्छ । दुवैले एक–अर्काको आवश्यकता बुझ्नुपर्छ । श्रीमान्ले श्रीमतीलाई यो पहिरन लगाऊ यो नलगाऊ भनेर अवरोध पुर्‍याउनु हुँदैन । एकले–अर्कालाई दबाउनु पनि हँुदैन भने आत्मसम्मानमा पनि ठेस पुर्‍याउनु हुँदैन ।

स्वतन्त्रता:

वैवाहिक जीवनमा स्वतन्त्रताले पनि महत्वपूर्ण भूमिका खेल्छ । दाम्पत्य जीवनमा दुवैले एक–अर्कालाई धेरै माया गर्ने भएकाले एक–अर्कासँग धेरैभन्दा धेरै समय बिताउनुपर्छ भन्ने गलत मानसिकता पाइन्छ । त्यसैगरी हरेक काम एक–अर्कालाई सोधेर गर्नुपर्छ, आफ्ना हरेक कुरा सेयर गर्नुपर्छ भन्ने मान्यता छ तर यो व्यावहारिक नहुन सक्छ । दुवैले एक–अर्काको व्यक्तिगत भावनाको कदर गर्दैै स्वतन्त्रताको सम्मान गर्नुपर्छ । उदाहरणका लागि श्रीमान्लाई आफ्नी श्रीमतीले गर्ने सामाजिक काममा रुचि छैन भने पनि त्यसमा कुनै किसिमको अवरोध गर्नु हँुदैन । यो उसका लागि आत्मसम्मानको कुरा हुन सक्छ । कुनै दिन श्रीमान् अफिसबाट ढिला घरमा आए पनि अनावश्यक रूपमा प्रश्न सोधेर तनाव उत्पन्न गराउनु हुँदैन । अफिसको काममा कहिलेकाहीँ ढिलो पनि हुन सक्छ । त्यसैगरी एक–अर्कालाई कुनै कारणले दोष दिनु भन्दा त्यो कुरा हल गर्नतिर लाग्नुपर्छ ।

फरक अपेक्षा:

श्रीमान्–श्रीमतीको चाहना फरक हुन्छ । यो सम्बन्धमा पुरुषको तुलनामा महिलाको अपेक्षा धेरै पाइन्छ । महिलाहरू आफ्ना श्रीमान्को कुरामा धेरै पोजेसिभ हुन्छन् । छोरीलाई सानै उमेरदेखि घरपरिवारका पुरुष सदस्यप्रति निर्भर रहन सिकाइएको हुन्छ । फलस्वरूप विवाहपछि पनि उनीहरू आफ्ना श्रीमान्मा निर्भर रहन रुचाउँछन् । उनीहरूलाई श्रीमान्को केयरिङ नेचर मन पर्छ ।

त्यसैले उनीहरू आफ्ना श्रीमान्प्रति त्यस्तै व्यवहार गर्ने प्रयास गर्छन् तर वैवाहिक जीवनमा श्रीमान्को श्रीमतीप्रतिको अपेक्षा एउटा सीमामा पुगेर खुम्चिएको पाइन्छ । श्रीमान्को चाहना आफ्ना श्रीमतीले घरको हरेक काम व्यवस्थित तरिकाले गरेको तथा उनीहरूको माग समयमा पूरा गर्नेमा सीमित हुन चाहन्छन् । यसभन्दा बढी कुनै काम महिला आफ्ना श्रीमान्का लागि गर्न चाहन्छन् भने त्यो बालुवामा पानी हालेसरह हुन्छ ।

पुरुष मानसिकता:

पुरुषको व्यक्तित्वमा लचिलोपन हुँदैन । विवाहपछि उनीहरूलाई आफूलाई मन पर्ने, मन नपर्ने कुरा श्रीमतीको चाहनाअनुसार ढाल्न गाह्रो हुन्छ । किनभने हाम्रो समाजमा उनीहरूलाई श्रीमतीसँग एडजस्ट हुन सिकाइएको हुँदैन । यो कुरा छोरी अर्थात् पत्नीको मात्र जिम्मेवारी मानिन्छ । आज महिलाको संसार तीव्र गतिमा परिवर्तन भैरहेको छ । त्यसैले दाम्पत्य जीवनमा श्रीमतीले श्रीमान्सँग समान अपेक्षा राखेका हुन्छन् ।

समयसँगै पुरुषको मानसिकता भने बदलिएको पाइँदैन । उनीहरू वर्षांै पुरानो मानसिकता तथा सोचमा बाँचिरहेका छन् । त्यसैले विवाहपछि आफूलाई श्रीमतीअनुसार ढाल्न कठिन हुन्छ । पुरुषको यो मानसिकता बदलिन अझ समय लाग्छ । त्यसैले सफल दाम्पत्य जीवनका लागि श्रीमतीले अझै केही धैर्य गर्नु आवश्यक छ साथै श्रीमान्सँग शिशुको जस्तो व्यवहार गर्नुभन्दा उनीहरूको व्यक्तिगत स्वतन्त्रता एवं भावनाको सम्मान गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here