आन्तरिक हवाई उडान सुरु गर्ने मिति तोकियो

0
228

नेपाल अनलाइन पत्रिका | काठमाडौं:   ६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोले पनि आन्तरिकतर्फका व्यावसायिक उडान बन्दै छ । सरकारले यसअघि पटक–पटक आन्तरिकतर्फको उडान खोल्ने आश्वासन दिँदै आए पनि अन्तिम सयममा आएर रोक्दै आएको छ । अब भने सरकार आन्तरिक उडान रोकेर कोरोना रोकथाम हुँदैन भन्ने निष्कर्षमा पुगिसकेको देखिन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को बैठकले राजधानीसहित देशभर कोरोना बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि सार्न सरकारलाई सुझाव दिँदै आएको थियो । अब भने आन्तरिकतर्फको उडानसमेत निश्चित मापदण्डको आधारमा खोल्न सरकारलाई दबाब थपिँदै गएको बुझिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार असअघि पनि सरकारले हवाई उडान भर्न विभिन्न निजी विमान कम्पनीलाई अनुमति दिइसकेको र विमान कम्पनीहरूले टिकटसमेत बेचिसकेकाले उडान र यात्रु संख्या तोकेर सेवा सञ्चालनको तयारीमा सरकार रहेको छ ।

यातायात व्यवसायीसमेत लामो दुरीका सार्वजनिक सवारी सञ्चालनको तयारीमा पुगिसकेको अवस्थामा हवाई उड्डयन निर्देशिका अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै सेवा सञ्चालनमा ल्याउनुपर्ने भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालय धाइरहेको स्रोतको भनाइ छ । ‘आन्तरिकतर्फका उडान खोल्न स्वास्थ्य प्रोटोकलसहित विमानस्थलमा दुरी कायम राख्ने लगायत तयारी छ,’ नाम नछाप्ने सर्तमा स्रोतले भन्यो, ‘लकडाउनअघि हुँदै आएका दैनिक उडान तथा अवतरण संख्यामा भने भारी कटौती हुन सक्छ ।’

स्वास्थ्य मापदण्डसहित देशभरका विमानस्थल उडानका लागि तयार रहेको अवस्थामा आन्तरिक उडान रोक्दा महामारी नियन्त्रण हुन्छ भन्नु तार्किक नभएको भन्दै विमान कम्पनीहरूले मन्त्रालयमा दबाब दिँदै आएका छन् । उनीहरूले निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ भएको तर्क गर्दै आएका छन् ।

साउदीबाट उडे ९ हजार अलपत्र नेपाली:

साउदी अरेबियामा कोरोना भाइरस तथा विभिन्न कारणले अलपत्र परेका नेपाली चार्टर उडानबाट हालसम्म ९ हजार ४७ जना स्वदेश फिर्ता भएका छन्। यो अवधिमा ९० शव समेत पठाइएको छ।

साउदीमा कोरोना भाइरसको असरबाट साना तथा मझौला कम्पनी बन्द हुँदै गएपछि कतिपय नेपालीले रोजगारी नै गुमाएका छन् भने कम्पनीबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित हुने समस्या देखिएको छ। जसले गर्दा स्वदेश फिर्ताका लागि समेत नेपालीलाई सकस भएको छ।

साउदी अरेबियाबाट स्वदेश फिर्ता हुने नेपालीको संख्या ३० हजार भन्दा बढी रहेको छ । साउदीका लागि नेपाल सरकारले निर्धारण गरेको नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्सको चार्टर उडान संख्या कमि भएको देखिन्छ। जसका कारण अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुन नसकेको अवस्था छ ।

साउदीमा लामो समयदेखि स्वदेश फिर्ताका लागि तयार रहेका नेपालीले समयमा स्वदेश फिर्ता हुने वातावरण तय नगरेको भन्दै हजारौं नेपालीले दुतावास र नेपाल सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।

साउदीमा रहेका एनआरएनलगायतअन्तरगत संस्था समन्वय समिति साउदी अरेबिया, कास्की समाज साउदी अरेबियाले कोरोनाको महामारी अवस्थामा आफ्नो रोजगारी गुमाएको पीडासँगै स्वदेश फिर्ताका लागि स्वयं जिम्मेवारी हुने गरी तोकिएको चर्को हवाइ भाडा शुल्क, होटेल क्वारेन्टाइनको शुल्क , हवाई टिकटको व्यवस्था, पीसीआर टेस्टिङ,र विविध झनझटिलो प्रक्रिया समेत श्रमिकले नै व्यवस्थापन गरी स्वदेश फिर्ताका लागि तयारी अवस्थामा रहँदा पनि नेपाली सरकारले सोचेजस्तो सहयोग नगरेको बताएका छन्।

नेपाल सरकारद्वारा नेपाली श्रमिकमाथि अन्याय गरेको महसुस भएको उल्लेख गर्दै स्वदेश फिर्ताका लागि पर्खिरहेका नेपाली श्रमिकलाई सहजरूपमा हवाइ टिकट उपलब्ध गराइ नियमित उडानको व्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालालाई ध्यानकार्षणका लागि नेपाली राजदूता वासरियादलाई अनुरोध समेत गरेका छन्।

साउदी अरेवियाले कोरोना भाइरसको मध्यनजर गदै लगाएको अन्तराष्ट्रिय उडानलगायत विभिन्न तीबन्धहरू कोरोना भाइरससम्बन्धी समाधानका उपाय र प्रोटोकलअनुसार यहि आउँदो १ जनावरी २०२१ बाट हटाउने घोषणा गरेको छ ।

साउदी प्रेस एजेन्सी एस पी एका अनुसार साउदी अरेबियाको इकामा र भ्यालिड भीषा भएका खाडी मुलुकहरू (जी सि सी) का नागरिक र तीनका परिवारजन भने १५ सेप्टेम्बरबाट नै आवतजावत गर्न पाउने उल्लेख गरिएको छ भने विश्वलाई नै संकटमा पारेको यस भाइरसले गर्दा साउदी सरकारले १५ मार्चदेखि अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here