Friday, September 25, 2020

Friday, September 25, 2020
शिक्षा महामारीमा अभिभावक शिक्षा

महामारीमा अभिभावक शिक्षा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: महामारीको कारणले विद्यालय/महाविद्यालयका शैक्षिक गतिविधि ठप्प छन् । विद्यार्थीहरू पाँच महिनादेखि घरमै छन् । कक्षा ११ सम्मका विद्यार्थी माथिल्लो कक्षामा पढ्न तयार भए पनि भर्ना हुन र विद्यालय जान पाएका छैनन् । पठनपाठन कहिले सुरु हुन्छ निश्चित छैन । कक्षा १२, स्नातकका कुनै वर्षका र स्नातकोत्तरका विद्यार्थी परीक्षा दिन नपाएर घरमै बसिरहेका छन् । परीक्षा अनिश्चित छ ।

धेरै अभिभावकहरू दोहोरो तनावमा छन् । एकातिर बालबालिकाको पठनपाठन, अर्कोतिर जागिर र घरखर्च कसरी चलाउने ? यो माहामारीको समयमा मात्र नभएर अन्य सामान्य अवस्थामा पनि अभिभावक शिक्षाको आवश्यकता महसुस गरिएको छ । कम्तिमा पनि महिनाको एकदिन १/२ घण्टा अभिभावक शिक्षा अनिवार्य गर्नु जरुरी छ ।

घर पहिलो पाठशाला र अभिभावक पहिलो गुरूको महत्त्व बढेको छ । यो महामारीको समयमा अभिभावक शिक्षाको महत्त्व बढ्दो छ । त्यसैले, अभिभावकीय भूमिका कस्तो हुनु पर्दछ, चर्चा गरौं ।

१. बालबालिकालाई समय दिऔं:

धेरै अभिभावकले बालबालिकालाई समय दिँदैनन् । भन्ने गर्छौं, सन्तानको निम्ति अनेक दुःख गरेको तर अभिभावकलाई उनीहरूसँग बस्ने, हाँसखेल गर्ने, कुराकानी गर्ने, मनका कुराहरू साटासाट गर्ने, इच्छा–आकांक्षा सुन्ने र बुझ्ने समय नै छैन । व्यस्त समयका वावजुद पनि बालबालिकालाई समय दिनु जरुरी छ । आफ्ना बालबालिकासँग बस्ने, उनीहरूका दैनिक क्रियाकलापको जानकारी लिने, आफ्ना कार्यहरू बताउने, कुराकानी, हाँसखेल र रमाइलो गर्नुपर्दछ । जति धेरै समय उनीहरूसँग बिताउँछौ त्यति धेरै उनीहरू खुसी हुन्छन् । उनीहरूको ध्यान अन्यत्र जान पाउँदैन । आफ्ना बालबालिकाको रूचि, चाहना, आवश्यकता, सम्बन्ध, प्रतिभा, व्यावहारिकता इत्यादि बुझ्न अभिभावकहरूले आफ्ना सन्तानका लागि निश्चित समय छुट्याउनुपर्छ ।

२. अभिभावकीय, मित्रवत एवं मायालु व्यवहार:

बालबालिकाको पहिलो पाठशाला घर हो भने पहिलो गुरू अभिभावक हुन् । घरमा जस्तो व्यवहार गरिन्छ र सिकाइन्छ बालबालिकाले अन्यत्र पनि उस्तै व्यवहार देखाउँदछन् । सानो उमेरमा सिकाएको व्यवहार ठूलो हुँदासम्म पनि कायम रहने हुँदा सानैदेखि बालबच्चालाई असल र राम्रो बानी व्यवहार सिकाउनुपर्छ ।

अभिभावक केवल अभिभावक मात्र नबनेर आवश्यकता अनुसार बालबालिकाको असल मित्र/साथीको भूमिका पनि निर्वाह गर्नुपर्दछ । बालबालिकालाई आवश्यकता अनुसार नियन्त्रण पनि गर्नुपर्दछ तर त्यो नियन्त्रण नकारात्मक हुनुहुँदैन । यदि नियन्त्रण नकारात्मक भएमा यसले उनीहरूमा एक्लोपन मनपर्ने, अभिभावक देखेपछि रिस उठ्ने, मन नपर्ने अवस्था सिर्जना गरिदिन सक्छ । कतिपय अवस्थामा आत्महत्या गर्नेसम्मको निर्णयसमेत गर्दछन् । त्यसकारण अनावश्यक र गलत कुरामा सचेत गराउने अभिभावकीय दायित्व निर्वाह गर्दै अरू बेला मित्रवत् व्यवहार गर्नुपर्छ ।

३. बाल मनोविज्ञान अनुसार व्यवहार गर्ने:

प्रत्येक बालबालिकाको मनोविज्ञान, क्षमता, रूचि र स्वभाव फरक–फरक स्तरको हुन्छ । यसैगरी उनीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास फरक हुन्छ । यी कुराहरूको वृद्धि र विकासमा समय, उमेर, पारिवारिक अवस्था, वातावरण र खानपानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । उनीहरूको भावना बुझेर अभिभावक र विद्यालयले व्यवहार गर्न जानेन् भने नकारात्मक र दुःखद स्थिति भोग्नुपर्ने अवस्था आउन सक्छ ।

बालबालिका स–साना कुराबाट प्रभावित भइहाल्छन् । कलिलो मस्तिष्कमा स–साना गल्ती र समस्याले पनि ठूलो विकृति पैदा गरिदिन्छ भने सानो हौसला र प्रोत्साहनले पढाई वा उनीहरूले गरिरहेका कार्यमा उर्जा प्रदान गर्दछ । त्यसैले यस्तो बेलामा अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

विद्यार्थीको भविष्य उनिहरूको परिश्रम, अभिभावक र शिक्षकको हातमा हुन्छ । त्यसैले अभिभावक र शिक्षकले उनीहरूको मनोबिज्ञान बुझेर सोहि अनुसारको व्यवहार गर्न सक्नुपर्दछ । पढ्ने वातावरणको व्यवस्था गर्नुका साथै माया, उपहार, पुरस्कार इत्यादि दिएर अध्ययनका लागि हौसला दिनुपर्छ जसले बालबालिकालाई थप बल पुग्छ । बालबालिका चञ्चले हुने भएकोले उनीहरू कुनै काम लामो समयसम्म एकाग्र भएर गर्न सक्दैनन् । अभिभावकले हरेक समय पढमात्र नभनेर खेल्न, टिभी हेर्न वा उनीहरूलाई मनपर्ने अन्य काम गर्न दिनुपर्दछ । सम्भव भएसम्म आफूहरू पनि सँगै बसिदिने पढ्न, खेल्न र काम गर्न सहयोग गर्दा अत्युत्तम हुन्छ ।

४.सजाय होइन, प्रेरणा:

प्रायःजसो अभिभावकको बालबालिकाप्रतिको बोलि, व्यवहार र शिक्षण नकारात्मक हुन्छ । जस्तैः यस्तो गर्ने होइन, त्यस्तो बोल्ने होइन, त्यहाँ खेल्ने होइन । हामी होइन भनेर शिक्षण गर्दैछौं । यो नकारात्मक शैलीको शिक्षण हो । त्यही कुरालाई हामी यस्तो गर्ने हो, त्यस्तो बोल्ने हो वा बोल्नुपर्छ, त्यहाँ खेल्ने हो भनेर सकरात्मक शिक्षण गर्नु जरूरी छ । हामी गिलास आधा भरि छ भनेरभन्दा आधा खाली छ भनेर सिकाउँदै छौं ।

५. घरमा शैक्षिक वातावरणको सिर्जना गरौं:

गल्ती जो कोहीबाट पनि हुन्छ यसर्थ गल्ती बालबालिकाले मात्र नभई अभिभावकले पनि गर्दछन् । गल्ती हुनु र गल्ती गर्नुभन्दा सोही प्रकृतिको गल्ती दोहोर्याउनु र गल्ती स्वीकार नगर्नु, झुटो बोल्नु अर्को गल्ती हो । गल्ती गर्दा सजाय दिनुको सट्टा गल्ती किन गर्नु हुँदैन, त्यसका कारण र त्यसबाट उत्पन्न हुने खराब असरक बारेमा सम्झाउने गर्नुपर्दछ । बालबालिकालाई शारीरिक र मानसिक सजाय दिदा झन् नकारात्मक बानीको विकास हुन्छ ।

बालबालिकाहरूका लागि पढ्ने वातावरणको व्यवस्था गरिदिनु अभिभावकको प्रमुख दायित्व हो । विद्यालयमा भर्ना गरेर अरू बाँकी सबै काम शिक्षक र बालबालिकाको हो भनेर बस्नु हुँदैन । बालबालिकालाई आवश्यक पर्ने विविध कुराहरू अभिभावकले पूरा गरिदिनुपर्छ । आफ्नो बालबालिकालाई छिमेक वा नातेदारका बालबालिकासँग तुलना कहिल्यै नगरौं । बालबालिकाले पनि हामीलाई अन्य अभिभावकसँग तुलना गर्दछन् । समय अनुसार खेल्न, टिभी हेर्न, मोबाइल चलाउन, साथीहरूसँग खेल्न दिनुपर्दछ ।

कतिपय अभिभावकको मलाई पढाउन आउँदैन भनेर उम्किने बानी हुन्छ । आफूलाई पढाउन नआएपनि उनीहरू पढेर बसेको बेलामा सँगै बसिदिनु अति राम्रो हुन्छ । हामी टिभी हेर्ने, मोबाइल चलाउने र अरूसँग गफ गरेर बस्ने अनि उनीहरूलाई पढ भन्छौं । यो हाम्रो खराब बानी हो । कमसेकम उनीहरू पढिरहेको बेलामा आफूपनि पत्रपत्रिका पढेर बसिदिने वा उनीहरूलाई पढाइमा सहयोग गरेर बसिदिने हो भने बालबालिकाको ध्यान अन्यत्र जान पाउँदैन । पठनपाठनका लागि आवश्यकीय सामग्री समयमै उपलव्ध गराउनु पर्दछ ।

६. साथी–संगतको ख्याल गरौं:

हरेक अभिभावकले आफ्ना सन्तानको साथी कस्ता छन्, कुन उमेर समूहका छन्, कस्तो पृष्ठभूमिका छन् ख्याल गर्नु पर्दछ । प्रायः साथीहरू दुई प्रकारका हुन्छन् : विद्यालयका र गाउँका । गाउँका साथीहरू आफूले चिनेजानेका हुन्छन् भने विधालयका साथीहरूको बारेमा कक्षा शिक्षक, विषय शिक्षक र प्रधानाध्यापकसँग बुझ्नु पर्दछ । गलत संगतले धेरै बालबालिका कुलतमा लागेको देखिन्छ । त्यसैले अभिभावक बेलैमा सचेत हुनु जरुरी छ ।

साथीहरूको लहलहैमा लागेर कक्षा छोडेर हिँड्ने, विधालय नगई चलचित्र हेर्न जाने, पार्कमा जाने, लागूपदार्थ सेवन गर्ने, अवैध कार्य गर्ने खालका हुन्छन् । बालबालिकाको बोलि व्यवहारमा आएको फेरबदल, समयको दुरूपयोग, अध्ययनको स्तर, साथी संगतको प्रभाव, शारीरिक अवस्थामा आएको फेरबदल, एकान्त मन पराउने, अभिभावकसँगको घुलमिल आएको परिवर्तन जस्ता लक्षणबाट आफ्ना बालबालिका गलत संगतमा लागेका छन्/छैनन् भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ । त्यसको समयमै निराकरण गर्नु पर्दछ ।

७. नियमित अवलोकन र नैतिक शिक्षा:

धेरै अभिभावकहरू कार्यव्यस्तताले गर्दा बालबालिकालाई समय दिन नभ्याउँदा बालबालिकाहरू बिग्रिएको, कुलतमा फसेको पाइन्छ । बिग्रिएपछि मात्रै अभिभावकहरू बालबालिकालाई नियन्त्रण गर्ने, सजाय दिने, उनीहरूलाई दिएका समान तथा सुविधा कटौती गर्ने गरेको देखिन्छ । यसरी पहिला जे गर्न पनि दिने पछि नियन्त्रण गर्ने गर्छौं । जुन प्रत्युत्पादक सावित हुन्छ । यसैले अभिभावकहरू बेलैमा सचेत हुनु जरुरी छ । आफ्ना बालबालिका तथा उनीहरूका साथीहरूको क्रियाकलापको नियमित अबलोकन गर्ने, जानकारी लिने, स्वभाविक रूपमा सोधपुछ गर्ने र आवश्यक मात्रामा नियन्त्रण गर्नुपर्दछ ।

बालबालिकाले के पढ्दैछन्, कसरी पढ्दै छन् ? तुलनात्मक रूपमा पढाइको स्तर कस्तो छ ? के काम गर्दैछन् ? साथीहरूसँगको व्यवहार कस्तो छ ? शिक्षिक, घर–परिवारका सदस्य र छरछिमेकसँग कस्तो व्यवहार गर्छन् ? कस्तो काम गर्न रूचि राख्दछन ? यस्ता कुरामा अभिभावकहरूले विशेष ध्यान दिनुपर्छ ।

८. शिक्षण संस्था छनौटमा बालबालिकालाई प्राथमिकता दिऔं:

धेरै अभिभावकहरू आफ्ना सन्तानबाट सन्तुष्ट नहुनाको प्रमुख कारण सन्तानबाट धेरै कुराको अपेक्षा गर्नु हो । फरक बालबालिकामा फरक क्षमता र विचार हुन्छ भन्ने बुझ्दाबुझ्दै पनि हामीहरू बालबालिकालाई बढिनै दबाव दिने गर्दछौं । हामी उनीहरूका रूचि र क्षमता बुझ्नेभन्दा पनि उनीहरू माथि हाम्रा चाहना लाद्ने गर्दछौं । फलस्वरूप परिणाम अनपेक्षित आउँछ ।

प्रत्येक अभिभावकको सपना आफ्ना बालबालिका डाक्टर, इन्जिनियर, पाइलट, सिए, हाकिम र वकिल बनुन्, धेरै धन सम्पत्ति कमाउन् भन्ने छ । असलभन्दा पनि सम्पत्तिवाल बनोस् भन्ने चाहना छ । हुन पनि हाम्रो समाजको संरचना र सोचाइ पनि त्यस्तै छ । पैसा, घर, गाडीको आधारमा इज्जत, मान प्रतिष्ठाको मापन गरिन्छ, न कि शिक्षा, सरल आचरण र व्यवहार । एसईई र कक्षा १२ को परीक्षा उत्तीर्ण भएपछि सबै अभिभावक र बालबालिकालाई एउटा महत्त्वपूर्ण निर्णय गर्ने अवसर प्राप्त हुन्छ । बालबालिकाको रूचि, चाहना एवं क्षमताअनुरूपको विषय अध्ययन गराउनुपर्छ । विषय छनौटमा अभिभावले करकाप गर्नुहुँदैन । आफ्नो चाहना अनुसारको विषय पढ्न दिने हो भने बालबालिकाले मिहिनेत गरेर पढ्छन् । प्रगति गर्छन् ।

अधिकांश अभिभावक आफ्ना सन्तानको चाहनाभन्दा पनि आफ्नो चाहनाको विषय पढ्न लगाउँछन् । यसले बालबालिकाहरूमा आफ्नो लागि भन्दा पनि अभिभावकका लागि पढिदिन लागेको जस्तो भावनाको विकास हुन्छ । त्यसैले बालबालिकाहरूको रूचि र क्षमता अनुसारको विषय र पारिवारिक अवस्था अनुसारको शैक्षिक संस्था छनौट गर्न लगाउनुपर्छ । यद्यपि बालबालिकाको चाहना र क्षमता हेरेर आवश्यकता अनुसार अभिभावकले पनि सल्लाह/सुझाव दिनुपर्ने हुन्छ ।

आमाबाबु/अभिभावक नै बालबालिकाका प्रथम शिक्षक हुन् । धेरै अभिभावकहरूले ‘संस्कार’ सिक्ने शिक्षाभन्दा पनि ‘कार’ किन्ने शिक्षातर्फ प्रेरित गरेको पाइन्छ । आफ्ना बालबालिकाले के सिकेभन्दा पनि कति अंक ल्याए भनेर चासो बढी भयो । सभ्य समाज र देशको निर्माण अङ्कले मात्र गर्दैन, संस्कार, सदाचार र सुविचारले गर्दछ । त्यसैले संस्कारी, सदाचारी, सक्षम र सबल व्यक्तिको निर्माणमा अभिभावकको भूमिका अतुलनीय हुन्छ । त्यसकारण अभिभावक शिक्षा अपरिहार्य छ ।

सम्बन्धित समाचार

छठलगत्तै त्रिविका सबै परीक्षा गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

ताजा समाचार

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

बत्ति किन झ्याप्प झ्याप्प जाँदैछ ? प्राधिकरणले दियो यस्तो स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरण प्रमुखबाट ४ बर्षे कार्यकाल सकाएर कुलमान घिसिङ विदाई भएसँगै जनताले बत्ति जान थालेको भन्दै गुनासो गरेका छन् ।धेरैले कुलमान घिसिङ नहुनाले झ्याप्प झ्याप्प बत्ती जाने गरेको समेत टिप्पणी गर्दै आएका छन् ।

डेलापको डेब्यू गोलको मद्दतमा सिटीको जित

लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।
X