कुलमानको पुनःनियुक्तिबारे कुरा उठ्दा प्रधानमन्त्रीले पन्छाए

0
89

नेपाल अनलाइन पत्रिका । काठमाडौं: सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने र नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने चर्चा केही दिनअघि देखि नै चलिरहेको थियो।

तर मन्त्रिपरिषदले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि कुलमानलाई पुनः नियुक्ति गर्ने निर्णय भने गरेन। ऊर्जा मन्त्रालयले घिसिङलाई पुनः नियुक्ति गर्ने औपचारिक प्रस्ताव नै पेश गरेन।

क्याबिनेटमा गौतमलाई सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्दा घिसिङको बारेमा पनि कुरा उठेको एक मन्त्रीले जानकारी दिए। कुलमानलाई पनि पुनः नियुक्ति गर्नुपर्ने विषय ऊर्जामन्त्री बर्षमान पुनले उठाएको र प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया पूरा गरेर मात्र उनलाई नियुक्त गर्न सकिने भन्दै घिसिङको बारेमा उठेको प्रसंग पन्छाएका थिए।

एक मन्त्रीले भने, ‘कुलमानको पुनः नियुक्ति गर्नुपर्ने आवाज उठ्यो। तर प्रधानमन्त्रीले कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्ने भन्दै त्यो विषयलाई गम्भीरतापूर्वक लिनुभएन।’

प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति खुला प्रतिपस्पर्धाबाट गर्नुपर्ने सार्वजनिक संस्थान व्यवस्थान आदेश २०६८ को व्यवस्था छ। चार वर्षअघि घिसिङ खुला प्रतिस्पर्धाबाटै नियुक्तका थिए।

तर एकपटक खुला प्रतिस्पर्धाबाट आएको व्यक्तिलाई पुनः नियुक्ति गर्न त्यहीँ प्रक्रिया अपनाउनु नपर्ने एकाथरीले तर्क गर्दै आए पनि ओलीले भने पुनः खुला प्रतिस्पर्धाबाटै आउनुपर्ने आशय व्यक्त गरेर कुलमानको प्रस्ताव पन्छाएका हुन्।

कुलमानप्रति प्रधानमन्त्री ओली सुरुदेखि नै पुनःनियुक्तिका लागि तयार नभए पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता दिन दबाब दिँदै आएका छन्। त्यस्तै सर्वसाधारणले पनि उनलाई फेरि जिम्मेवारी दिनुपर्ने आवाज उठाइ रहेका छन्।

प्रधानमन्त्री ओली मात्र नभइ उनको सचिवालय र सल्लाहाकारहरुसमेत कुलमानको पक्षमा नरहेको देखिएको छ।

सोमबार नेकपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले घिसिङलाई पुनः नियुक्ति दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेपछि ओलीका प्रेस सल्लाहाकार समेत रहेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here