सीसीएमसीको सिफारिसका विषयमा निर्णय हुने, मन्त्रिपरिषद बैठक बस्दै

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। कोरोना महामारीले विकराल रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँभ बस्ने बैठकमा सीसीएमसीले आइतबार गरेको सिफारिसका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

आइतबार बसेको सीसीएमसीको बैठकले पाँच सय सक्रिय संक्रमित देखिएका जिल्लामा निषेधाज्ञा लगाउन, सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद बैठकले सीसीएमसीले गरेको सिफारिसका विषयमा निर्णय लिनुका साथै अन्य नियमित एजेण्डाका विषयमा पनि छलफल गर्दैछ। रिक्त रहेका मुलुकमा राजदूत नियुक्तीका विषयमा पनि छलफल हुने एजेण्डा रहेको स्रोतले जनाएको छ।

काठमाडौं प्रशासनमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरू स्थगित गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरू वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि स्थगित गरिएको बताए ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परीक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उनले बताए ।

यसबाहेक भीडभाड हुने अन्य कार्यालयमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गरे । स्थगित गरिएका सेवामा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरू र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सञ्चालन रहने उनले बताए ।

आइतवार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भीडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भीडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचारप्रसार गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

मास्क नलगाई हिँड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनले बताए । अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीे अनावश्यक भीडभाड नगरी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै अनिवार्य रूपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार