बिजुली बत्ति बलेको नेपालकै पहिलो घर

प्रकाशित:

नेपाल अन्लाईन पत्रिका। काठमाडौं। झिँगटीको छानो, सेतो रङले पोतिएको भित्ता, पुरानो शैलीको तीनमुखे आँखीझ्यालले त्यो घर बैंशमा झनै सुन्दर थियो भन्ने आभास दिन्छ । ठाउँठाउँमा प्लास्टर उप्किसके पनि त्यसको सौन्दर्यमा कमी आएको छैन । उभिनका लागि भने टेकोको साथ लिइरहेको छ । ढोकाको ठीक माथि झुन्ड्याइएको खुइलिन लागेको बोर्डमा लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिला बत्ती बालिएको घर ।’ ललितपुर खोकनामा रहेको यो ऐतिहासिक घरअगाडि दुईचार वटा बूढा काठका पोलहरू ठिंग उभिएका छन् साक्षीका रूपमा । तीनमुखे आँखीझ्यालको ठीक मुनि बनाइएको सिंहको टाउकाको आकृतिमा बल्ब जडान गरिएको छ । यही बल्बले पहिलोपटक उज्यालोको अनुभूति दिएको थियो नेपालीलाई ।

‘त्यो बत्ती जनताको घरमा बाल्नका लागि बनाइएको थिएन’, खोकनाका शिक्षक कृष्णभगत महर्जन भन्छन्, ‘दरबारका लागि थियो ।’ बेलायत घुम्न गएका तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरलाई त्यहाँको झिलिमिलीले लोभ्यायो । त्यहाँ कानुनी रूपमै विद्युत् प्रसारण हुन थालेको तीन दशक पुगिसकेको थियो । बेलायतको झिलिमिलीले लोभिएका चन्द्रशमशेरले बेलायतको सिको गरेर नेपालमा पनि बिजुली उत्पादनको पहल गरे । त्यसको लागि फर्पिङमा पावर हाउस बनाइयो । विसं. १९६८ मा सो पावर हाउसले विद्युत् प्रसारण सरु गर्‍यो । ‘त्यो पावर हाउस दक्षिण एसियाकै पहिलो र एसियाको दोस्रो थियो’, वर्तमान प्रमुख श्यामकृष्ण बस्नेत भन्छन् । उनका अनुसार यस पावरहाउसमा प्रयोग भएको प्रविधि बेलायत र फ्रान्सबाट ल्याइएको थियो जसबाट पाँच सय किलोवाट बिजुली उत्पादन भएको थियो ।

खोकनाबाट करिब चालीस मिनेट पैदल बाटोमा रहेको ‘पावरहाउस’ बनाउन सात लाख पच्चीस हजार रुपैयाँ लागेको बस्नेत बताउँछन् । आवश्यक मानव श्रमका लागि भने देशभरका सैनिक र कैदीको प्रयोग गरिएको रहेछ । त्यतिले मात्र नपुगेर खोकनावासीबाट पनि श्रमदान गराइएको कृष्णभगत बताउँछन् । नेपाली श्रमदान र विदेशी प्रविधि एवं ज्ञान मिलेर पहिलोपटक बिजुलीबत्ती बल्यो । विलासका हरेक सामग्री सुरुमा आफूले उपयोग गर्ने राणाहरूको दरबारमा भने जनताको घरमा बलेपछि मात्रै बिजुली बत्ती बल्यो ।

त्यसको पछाडि कारण थियो उनीहरूमा रहेको रूढिगत चिन्तन । देशमै नभएको प्रविधि एकैपटक उपयोग गर्दा दरबारमा अनिष्ट हुन्छ भन्ने ठानेर उनीहरूले जनताको घरमा परीक्षण गर्ने सोचे । त्यसका लागि खोकनाका पाँचछवटा घरमा बत्ती जोडिएको बताउँछन् खोकनावासी मदनकृष्ण डंगोल । ‘हजुरबुवा सिद्धिलाल डंगोलको पालामा ती बत्ती बलेका थिए’, डंगोलले भने ।

१९६८ साल जेठ ९ गतेबाट सञ्चालन भएको फर्पिङ जलविद्युत् यही एक सय नाै वर्षको भएको छ । त्यहाँ अझै पनि पुराना दुईवटा मेसिन छन् तर स्थिर र अचल । श्री ३ जुद्धशमशेरको पालामा त्यहाँबाट पिउनका लागि पानी निकाल्न थालेपछि जलस्रोत अभावले विद्युत्गृह विस्तारै बेकामे बन्दै गयो । २०३८ सालमा त पूरै बन्द भएको बस्नेत बताउँछन् । अहिले कुलेखानीबाट ६० मेगावाट बिजुली निकालिएको छ । बिजुली उत्पादन बन्द भए पनि फर्पिङ पावर हाउस भने इतिहासको चिनारी बनेर बसेको छ । ‘यो मुलुकको धरोहर हो, विश्वलाई यसबारे बताउनुपर्छ भनेर जोगाएका छौं । पहिला बन्द थियो अहिले हेर्न आउनेका लागि खोल्ने गरेका छौं’, बस्नेत भन्छन् ।
फर्पिङ पावर हाउस होस् वा खोकनाको बत्ती बलेको पहिलो घर, दुवै हाम्रो पहल र अक्षमताका उदाहरण हुन् । राणा शासकको सोखकै लागि निकालिएको भए पनि शासकवर्गमा निरन्तरता दिने अठोट नहुँदा ती दुवै संरचना उज्यालोतिर पहिलो पाइला हालेर पनि अवरुद्ध हाम्रो यात्राको कथा बनेका छन् ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार