एकैदिन थपिए ५७२७ कोरोना संक्रमित ३३ जनाको मृत्यु

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २९५६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९२८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ। यसैगरी देशभर पछिल्लो २४ घन्टामा १५ हजार ३ सय ९१ पीसीआर तथा ५२५ एन्टिजेन परीक्षण भएको छ।

पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देख ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने क्रम बढिरहेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो। सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड-१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको बताएका छन्।

तर अर्का एक विज्ञले व्यापक स्तरमा भाइरस फैलिएकाले पछिल्लो अवस्था देखा परेको हुनसक्ने उल्लेख गर्दै सङ्क्रमणबाट बढी प्रभावित भनिएका उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या रहेको टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार