नयाँ लहर डरलाग्दो हिसाबले फरक भारतमा

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि ग¥यो।

प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो। तर हालसम्म देखिएका प्रमाण निर्णायक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन्। महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणाली तहसनहस पारेको छ भने शवदाहगृहमा लगातार चाप बढ्दो छ। यसो हुँदाहुँदै पनि यही भेरियन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ।

‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. संजय साद भन्छन्। उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो।

‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ। यो समग्रमा नौलो कुरा हो। यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा. साद भन्छन्।

भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।

आवश्यक स्वास्थ्य सामग्री र बेडको अभावमा अस्पतालले बिरामीलाई फर्काइरहेका यो अवस्थामा वैज्ञानिकले नयाँ भेरियन्टले महामारीमा कस्तो भूमिका खेलेको छ भनेर पत्ता लगाउने प्रयास जारी राखेका छन्। उनीहरू उपलब्ध थोरै तथ्यांकको आधारमा अध्ययन अगाडि बढाइरहेका छन्। अन्य देशमा झैं भारतमा पनि भाइरसलाई ट्र्याक गर्ने सुदृढ प्रणाली विकास भइसकेको छैन।

भारतका अधिकांशको ध्यान बी.१.६१७ नामक भाइरसको भेरियन्टमा छ। सर्वसाधारण, सञ्चारमाध्यम तथा कतिपय चिकित्सकले यही भेरियन्टले महामारीलाई तीव्र बनाएको निष्कर्ष निकालेका छन्। तर भारतबाहिरका अनुसन्धानकर्ता उनीहरूसँग भएका सीमित तथ्यांकले बी.१.१.७ नामक भाइरसको अर्काे भेरियन्ट यसका लागि जिम्मेवार रहेको ठान्छन्।

यो भेरियन्टले गत वर्षको अन्त्यतिर बेलायतमा तहल्का मच्चाएको थियो भने युरोपको अधिकांश भूभागमा फैलिएको थियो। अमेरिकामा हाल संक्रमण बढाउनमा यही भेरियन्ट जिम्मेवार मानिएको छ।

‘महामारीका लागि बी.१.६१७ भेरियन्टको प्रमुख भूमिकामा कुनै सन्देह छैन तर यसले महामारी बढ्नुमा प्रत्यक्ष रुपमा कति योगदान गरेको छ भन्ने अझै प्रस्ट भइसकेको छैन। विशेषगरी यो भेरियन्टसँगै बी.१.१.७ को योगदान कति छ भन्नेमा अध्ययन हुन बाँकी छ,’ अमेरिकाको सान डियागोमा रहेको स्क्रिप्स रिसर्च इन्स्टिच्युटका भाइरसविज्ञ क्रिस्चियन एन्डर्सन भन्छन्। भेरियन्टबाहेक भारतमा देखिएको डरलाग्दो महामारीका लागि अन्य कारक पनि हुन सक्ने वैज्ञानिक तर्क छ।

भारतमा हालसम्म २ प्रतिशत जनसंख्याले मात्र पूर्णरुपमा खोप लगाएका छन्। यसैगरी गत वर्षको पहिलो लहरपछि सर्वसाधारणले भाइरसप्रति गरेको हेलचक्र्याइँ र स्वयं प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न राजनीतिक भेलामा सहभागी हुनुले महामारीले तीव्रता पाएको विज्ञको ठहर छ। ‘बी.१.६१७ भेरियन्टलाई मात्र अत्यधिक दोष दिइएकोछ तर त्यसभन्दा बढी अन्य कारक हुन सक्छन्,’ बेलायत स्थित वेलकम सांगर इन्स्टिच्युटअन्तर्गतका कोभिड–१९ जेनोमिक्स इनिसियटिभका निर्देशक जेफ«ी ब्यारेट भन्छन्।

प्रारभिंक नतिजाले खोपका प्रभावमा केही कमी आएपनि नयाँ भेरियन्टलाई पनि खोपले असर गरेको देखाएकाछन्। भारतमा अधिकासले अक्सफोर्ड विश्वविद्यालय तथा अष्ट्राजेनेकाले विकास गरेको खोप लगाएकाछन्। विभिन्न क्लिनिकल परिक्षणले फाइजर र मोर्डना खोपको तुलनामा नयाँ भेरियन्टको सँक्रमण रोक्न यो खोप कम शक्तिशाली रहेको देखाएकाछन्। ‘हाल यो खोप प्रभावकारीनै देखिएकोछ तर कम प्रभावकारी हुनसक्ने संकेत देखिएकाछन्,’ न्यूयोर्कमा रहेको बेलेभु अस्पतालका सँक्रामक रोग विशेषज्ञ तथा इपिडेमिओलोजिष्ट डा. सेलिन गाउन्डर भन्छिन्।

उता मानिसहरूको भनाइलाई आधार मान्दै भारतका कतिपय चिकित्सक खोपका दुवै मात्रा लगाएका पनि बिरामी भएको तर्क गर्छन्। बालबालिकामा पनि झाडापखालाजस्ता गम्भीर संक्रमण देखिएको र युवामा रक्तचाप अत्यन्त कम भएको लक्षण देखिएको ती चिकित्सक बताउँछन्। ‘हालको महामारी गत वर्षको भन्दा नितान्त फरक छ,’ मुम्बईस्थित एक बाल अस्पतालका चिकित्सक डा. सोनी उदानी भन्छन्।

भारतमा दुईपटक उत्परिवर्तन भएको प्रजाति (डबल म्युटेन्ट) लाई महामारी विस्तारमा जिम्मेवार मानिने गरिएको छ। सीमित अध्ययनले के देखाएको छ भने भाइरसका फरक भेरियन्ट भारतका फरकफरक राज्यमा देखिएका छन्। उदाहरणका लागि बी.१.६१७ महाराष्ट्रमा अत्यधिक देखिएको छ भने बी.१.१.७ नयाँ दिल्लीमा बढी देखिएको छ। भारतका नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक डा. सुजित सिंहका अनुसार मार्चमा अध्ययन गरिएका ५० प्रतिशत नमुनामा यो भेरियन्ट पुष्टि भएको थियो।

उक्त अध्ययनभन्दा २ साताअघि गरिएको अध्ययनमा यो भेरियन्ट २८ प्रतिशतमा देखिएको थियो। डा. सिंह दिल्लीमा यो भेरियन्ट प्रसार भइरहेको तर्क गर्छन्। तर उपलब्ध तथ्यांकका आधारमा नतिजामा पुग्न कठिन छ। संक्रमणको यति ठूलो स्तर भए पनि भारतमा भाइरसको आनुवांशिक सिक्वेन्स अध्ययन अत्यन्त कम भएको छ। गत डिसेम्बरमा १० प्रयोगशालामार्फत कुल संक्रमितमध्ये ५ प्रतिशतको नमुना संकलन गरेर हरेक महिना अध्ययन गर्ने भारत सरकारले घोषणा गरेको थियो। तर एक प्रतिशतभन्दा कम नमुनाको मात्र अध्ययन हुन सकेको छ।

यसैगरी भारतीय अधिकारीले खोपको पूरा मात्रा लगाएका मध्ये कतिजनामा भाइरसको संक्रमण भयो भनेर पत्ता लगाउन चाहेका छन्। यसले भाइरसका नयाँ भेरियन्ट कति संक्रामक छन् भन्ने जानकारी दिने उनीहरूको विश्वास छ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले अप्रिल २१ सम्म गरेको एक अध्ययनले खोेपको पूर्ण मात्रा लगाइसकेकोमा संक्रमण अत्यन्त कम रहेको देखाएको छ। उक्त संस्थाका अनुसार खोप लगाएका मध्ये शून्य दशमलब शून्य दुईदेखि शून्य दशमलब शून्य चार प्रतिशत मानिसमात्र संत्रमित भएका छन्। विभिन्न थरीका खोप लगाएको अमेरिकामा यो दर शून्य दशमलब शून्य शून्य आठ प्रतिशत छ।

पुनः सक्रमित भएका नयाँ दिल्लीको गंगाराम अस्पतालका ३७ चिकित्सकले जनवरीको अन्त्यतिर अथवा फेब्रुअरीको सुरुमा पहिलो डोज अस्ट्राजेनेका खोप लगाएका थिए भने ४ देखि ६ सातापछि दोस्रो डोज लगाएका थिए। उक्त अस्पतालमा ५ सय चिकित्सक कार्यरत छन्।

मुटु विशेषज्ञ डा. साद भाइरसका नयाँ भेरियन्टले खोपलाई निष्प्रभावी पारेको नतिजामा पुग्न हतार गर्न नहुने ठान्छन्। ‘कसैसँग यो कुरालाई पुष्टि गर्ने डाटा छैन,’ उनी भन्छन्। (न्युयोर्क टाइम्स)

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार