अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस

प्रकाशित:

अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस, आज मे ३, को दिन विश्वभरि सञ्चार र त्यसमा प्रयोग हुने हरेक विषयहरूको पैरवी गर्दै तथा यसका अनेकन् पक्षहरूको ’boutमा बहस गर्ने, गराउने, गर्दै, र गराउँदै मनाउने गरिन्छ। सन १९९१ को मे ३ मा राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन, युनेस्को को अफ्रिकी मुलुक नामिविया स्थित विन्डहक सहरमा सम्पन्न भएको २६औँ महा-सभाले स्वतन्त्र सञ्चार तथा बहुल वादी प्रेसको प्रवर्धनका निम्ति “विन्डहक घोषणा” जारी गरेको थियो। सोही घोषणालाई राष्ट्र सङ्घ महासभाले सन् १९९३ मा स्वीकृति दिएपछि हरेक वर्ष आजको दिन लाई “अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस”को रूपमा मनाउने घोषणा गर्‍यो। र, त्यसपछि मे ३, को दिन सम्पूर्ण विश्वले अनुसरण गर्दै हरेक वर्ष विश्व – अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने चलनको विकास हुँदै गएको हो।

विन्डहक घोषणापत्र

माथि उल्लेख गरिएझैँ, अफ्रिकी महादेशको देश नामिविया स्थित विन्डहक सहरमा “स्वतन्त्र एवम् बहुल वादी प्रेसका लागि विन्डहक घोषणापत्र” अनुमोदन तथा जारी भएको दिनको सम्झनामा अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस विश्वभर भव्य रूपमा मनाइने गरिन्छ। सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि संसार भरनै अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने चलन को थालनी भएको हो। पत्रकार र प्रेसको स्वतन्त्रताको साथ साथै पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ ।

राज्यको चौथो अङ्ग; सञ्चार-माध्यम, तिनको स्वतन्त्रता र भूमिका

अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस को यो दिन सञ्चार सँग सम्बन्धित हरेक पत्रकार, समाचार लेखक को साथै समाचार वाचक तथा यस पेसामा सम्बन्धित सबैका लागि एक महत्त्वपूर्ण दिन समेत भएको मा दुई मत पक्कै पनि छैन। राज्यको एक महत्त्वपूर्ण अङ्ग वा भनौँ राज्यको चौथो अङ्गको रूपमा समेत रहेको प्रेस एवम् सञ्चार-माध्यमले राज्य सञ्चालनमा समेत पनि निष्पक्ष भूमिका खेल्दै राज्य सञ्चालनको जानकारी प्रदान गर्ने गर्दछ। र, साथ साथै यसले राज्य सञ्चालनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। यस कारण, अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस लाई एउटा अत्यन्तै विशेष अनि महत्त्वपूर्ण दिनको रूपमा लिने गरिन्छ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता

यस दिवसलाई प्रेस, पत्रकार तथा सञ्चार-माध्यम को स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता, जस्ता विषयहरूमा केन्द्रित भएर मनाउने चलन रही आएको छ। यस दिवसको मुख्य उध्येस्य विश्वभरि रहेका प्रेसको स्वतन्त्रता, पत्रकारहरूको जिउ धनको सुरक्षा, इत्यादिको लागि बुलन्द आवाज उठाउने जस्ता कार्यहरू नै हुन्।

त्यस बाहेक यस दिवस हरेक सञ्चार माध्यमहरूको स्वतन्त्रता सम्बन्धी मुद्दा, उनीहरूका आवाज, जस्ता विषयहरूका साथ-साथै सञ्चारका सबै क्षेत्र र तिनका हरेक विषयहरूमा पैरवी गर्ने गर्दछ। समाचार सङ्कलनका क्रममा पत्रकारहरूले ज्यानको समेत परवाह नगरी जोखिमहरूका बिच, आफ्नो पेसाको कार्यान्वयन गर्दै ज्यान समेत गुमाएका विभिन्न सञ्चार पत्रकारहरूको योगदान, कठिन परिश्रम आदि लाई सम्झना तथा सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ।

नेपालको सन्दर्भ

नेपालमा नेपाली पत्रकारहरू तथा त्यस सम्बन्धी सरोकारवालाहरूले भने विश्व /अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउन थालेको भने करिब १९ वर्ष जति मात्र भएको देखिन्छ। सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो।

नेपालको संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत व्यक्तिगत तथा राजनैतिक विचार को साथै अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुन पाउने नैसर्गिक अधिकार, सङ्घ/संस्था वा राजनीतिक दल खोल्ने अधिकार, देश भित्र निर्बाध रूपमा आवतजावत गर्ने अधिकार, नियम – कानुन भित्र रहेर गरिने कुनै पनि पेसा वा रोजगार एवं उद्योग कल -कारखाना व्यवसाय आदि स्वतन्त्रतापुर्बक गर्न पाउने अधिकार आदिको स्वतन्त्रताको प्रत्याभूति दिएको छ।

पत्रकारहरूको सर्वोच्च सङ्घ, नेपाल पत्रकार महासङ्घले हरेक वर्ष अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर विभिन्न नारा हरूका साथ यो दिवस भव्य रूपमा मनाउँदै आएको छ। देश अनि राज्यका तीन प्रमुख अङ्गहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई प्रेस वा भनौँ सञ्चार-माध्यम सबभन्दा महत्त्वपूर्ण हुनुका साथै नभै नहुने एक साध्य समेत पनि हो ।

नेपालमा प्रेसको इतिहास

नेपालमा प्रेसको इतिहास खोतल्ने हो भने, नेपालको पहिलो समाचार-मूलक पत्रिका गोरखापत्र नै हो भन्दा अनुपयुक्त हुँदैन होला। वि.स. १९५८, वैशाख २४ गते तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरले यसको प्रकाशनको सुरुआत गरेका थिए। सुरुवातको दिनमा साप्ताहिक पत्रिका बाट सुरु भएको गोरखापत्र वि.स. २००० देखि हप्ताको दुई पटक भने तिन वर्ष पछि अर्थात् वि. स. २००३, पौष महिना देखि साताको तीन पटक प्रकाशन हुने गरेको थियो। गोरखापत्रको प्रकाशनको मुख्य उद्देश्य भने सर्वसाधारण जनतालाई सुसूचित तथा शिक्षित गराउने वा बनाउने भन्दा पनि उनै राणा शासनको पक्षको गुणगान गर्ने उद्देश्यले अभिप्रेरित थियो भन्न सकिन्छ। गोरखापत्रले वि.स. १९५८ मा प्रकाशन सुरु गरेको भएता पनि वि.स. २०१७ फागुन ७ गतेदेखि मात्र दैनिक अखबारको रूपमा प्रकाशन थालेको थियो।

नेपाल पत्रकार महासङ्घ र नेपालमा प्रेस, सञ्चार

वर्तमान नेपाल अहिलेको अवस्थासम्म आइपुग्दा प्रेस र सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता को अनुभूति गर्दै सञ्चारकर्मीहरूले नयाँ समय अनुसार टेलिभिजन, अनलाइन- खबर, र इन्टरनेटको प्रयोगबाट सञ्चार समाचार, सन्देश तथा सूचनालाई आमसञ्चार मार्फत जनमानस सम्म पुर्‍याउने काम गरिरहेका छन्।

यसरी गोरखापत्र कालदेखि सुरु भएको नेपालको प्रेसको इतिहासमा वर्तमान अवस्थासम्म आइपुग्दा सञ्चार गृहहरूको विकास भए अनुसार प्रेस स्वतन्त्रताको लागि नेपाल पत्रकार सङ्घ पनि स्थापना भएको छ। वि.स. २०१२ सालमा प्रेस स्वतन्त्रताको पक्षमा सङ्गठित रूपमा दरिलो आवाज उठाउने उद्देश्य अनुरूप नेपाल पत्रकार सङ्घ को स्थापना भएको थियो। यस सङ्घको स्थापना तत्कालीन समयमा पेसागत हकहित र राजनैतिक निरंकुशताको विरुद्ध ससक्त रूपमा नयाँ व्यवस्थाको लागि आवाज उठाउने नै प्रमुख कार्य थियो।

त्यस समयको निरङ्कुश पञ्चायती शासन व्यवस्था विरुद्ध स्वतन्त्र प्रेसको पक्षमा कलम चलाउने कार्य र आन्दोलन गरिरहेको नेपाल पत्रकार सङ्घले बि.स. २०५३ मा सङ्घको स्थापनाकालको पुरानो नाममा “महा” थप गरेर “नेपाल पत्रकार महासङ्घ” को रूपमा परिमार्जन तथा विकास गरेको थियो। दरिलो छाता सङ्गठनको स्वरूपमा विकास गरेर त्यस महासङ्घ भित्र दिनानुदिन सञ्चारकर्मीहरू सङ्गठित भएर सुरुका दिनहरू देखि नै, महासङ्घमा आबद्ध सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका थिए जुन अहिलेको समय सम्म पनि यथावत् चलिरहेकै छ।

यसरी प्रेस स्वतन्त्रताका लागि विभिन्न समय र कालखण्डमा धेरै सञ्चारकर्मीहरूले आफ्नो जीवनको आहुति दिन समेत पछि हटेका छैनन्। यसरी देशमा प्रेस स्वतन्त्रता स्थापना गर्न को लागि बलिदान दिने अज्ञात पत्रकारहरू पनि रहेका छन् भने ज्ञात पत्रकारहरूको नाम लिँदा उमा सिंह, कृष्ण सेन, लगायत डेकेन्द्रराज थापा हरू को नाम प्रमुख रूपमा सम्झिने गरिन्छ। यसरी प्रेस स्वतन्त्रता स्थापना गर्न को लागि बलिदान दिने सञ्चारकर्मीको संख्या अझ धेरै हुन सक्ने नेपाल पत्रकार महासङ्घ बाट जानकारी पाउन सकिन्छ।

नेपालमा अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवसका मुख्य उद्देश्यहरू

नेपालमा अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने चलन खासै धेरै अगाडी देखि नभको भएता पनि यस दिवस मनाउनु पछाडिका मुख्य उद्देश्यहरू भने चार वटा रहेका छन्। प्रथम उद्देश्य, प्रेस स्वतन्त्रताको मौलिक सिद्धान्त स्थापनाको बार्सिकी मनाउने, दोश्रो: पेसागत अभ्यास र पत्रकारिता गर्दै गरेको बेलामा कुनै अप्रिय घटना घटन गई अकालमा ज्यान गुमाएका विश्वभरका पत्रकारहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने, तेस्रो उद्देश्य, प्रेस स्वतन्त्रताको विश्वव्यापी रूपमा मूल्याङ्कन गर्ने हो भने चौथो उद्देश्य, प्रेस स्वतन्त्रतामा हुने जुनै पनि प्रकारको बाह्य हमला/ हमलाहरू बाट मिडियाको बचावट गर्ने जस्ता उद्देश्यहरू रहेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हरेक वर्ष दिवसको अवसर पारेर विशेष नारा समेत तय गर्ने गरिन्छ। उक्त नारामा समेत प्रेस स्वतन्त्रता सम्बन्धी कुनै एक उद्देश्य र भावी योजनाहरू जोडिएका हुन्छन्। तर, माथि उल्लेखित चार वटा उद्देश्यहरू चाहिँ सुरुदेखि नै स्थापित र अपरिवर्तनीय उद्देश्यहरूको रूपमा रहेका छन्।

अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवसका कार्यक्रमहरू

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ। राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न विभिन्न प्रकारका दबाबमूलक कार्यक्रमहरूको आयोजना गरिन्छ। त्यसै गरी विभिन्न समय र कारणले राज्य बाट दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्ने र राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमहरू तथा राज्यलाई सचेत बनाउने कार्यहरू समेत गर्ने गरिन्छन् । आजको दिन संसार भरि रहेका अधिकांश राष्ट्रका प्रेस काउन्सिलहरूले विशेष विज्ञप्ति निकाल्ने चलन समेत पनि रहेको छ।

युनेस्कोले हरेक वर्ष पत्रकार, नागरिक समाज, पत्रकारिता सम्बन्धी शैक्षिक संस्थाहरू लगायत यस क्षेत्रका अन्य सरोकारवाला हरूको समेत सहभागिता गराई प्रेस स्वतन्त्रताको क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरूको सवालमा केन्द्रित रहेर धेरै राष्ट्रमा रहेका शाखाहरू मार्फत कार्यक्रमहरू गर्ने गर्दछ।

नेपालमा, नेपाल पत्रकार महासङ्घ लगायत का सङ्घसंस्थाले छुट्टाछुट्टै तथा सामूहिक रूपमा कार्यक्रमहरू गर्ने गर्दछन्। यस अवसरमा आयोजित कार्यक्रमहरू विशेष गरी प्रेस स्वतन्त्रता सम्बन्धी कार्यक्रमहरू नै महत्त्वपूर्ण हुन्छन् र यसै उपलक्षमा महासङ्घको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गर्ने गरिन्छ।

जुन सुकै देशको प्रेस स्वतन्त्रता त्यस देशको राजनीतिक व्यवस्था र अवस्थामा निर्भर हुने हुन्छ। त्यस कारण नेपालमा हुने गरेका राजनीतिक अस्थिरताहरूले समेत पनि प्रेस स्वतन्त्रता प्रभावित बन्ने गर्दछ। एक व्यक्ति वा शक्तिको अधिकार अर्को व्यक्ति वा शक्ति को स्वतन्त्रताको बाधक हुने गर्दछ, त्यसै कारण स्वतन्त्रताका नाममा अरूलाई पर्न जाने असरलाई सम्बन्धितले जहिले पनि ख्याल गरेकै हुनु पर्दछ। एक व्यक्तिको बाटोमा निर्बाध हिँड्ने अधिकार हो तर, अधिकार हो भन्दैमा बाटोमा हिँड्ने अरु बटुवाको स्वतन्त्रताको हनन गर्न त पक्कै पनि ठिक हुँदैन नि।

यस विश्व प्रेस स्वतन्त्रता दिवसलाई हरेक वर्ष प्रेस स्वतन्त्रता सङ्गठनहरू, मिडिया पेशेवरहरू, र संयुक्त राष्ट्र सङ्घ एजेन्सीहरू सबै एकसाथ हातेमालो गर्दै सबैलाई एकै ठाउँमा ल्याएर विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रताको अवस्थाको मुल्यान्ग्कं गर्दै मनाउने गरिन्छ। साथ साथै यस क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण तथा तिनको समाधानको ’boutमा छलफल गर्दै पनि मनाइनछ।

नेपालमा अनलाइन डिजिटल मिडिया र अन्य तथ्याङ्कहरू

संसारमा इन्टरनेटको विस्तार बढेसँगै नेपाल पनि यस बाट अछुतो रहन सकेको वा रहन सक्ने छैन। नेपाल प्रेस काउन्सिल अनुसार हामीकहाँ अनलाइन मिडियाहरूको सङ्ख्या दिनानुदिन बढी रहेको छ। प्रेस काउन्सिल अनुसार अहिले सम्म नै अनलाइन मिडियाहरु एक हजार ६०० (अनुमानित तथ्याङ्क) भन्दा पनि बढी पुगिसकेको छ। र, यो सङ्ख्या हेर्ने हो भने अनलाइन मिडियाको सङ्ख्या अझ बढी रहेको हुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ। तसर्थ, नेपाल प्रेस काउन्सिलले छिट्टै नै अनलाइन मिडियाहरू लाई समेत मूलधारमा ल्याउने र डिजिटल मिडिया समेत लाई नेपाल प्रेस काउन्सिलको दायरा भित्र रेलाएर अभिव्यक्ति स्वतन्त्रताको उचित वातावरण सिर्जना गर्दै डिजिटल मिडियालाई स्वछ वातावरण सृजना गर्ने काम जरुरी देखिन्छ।

नेपालमा पत्रपत्रिका, अखबार, तथा विभिन्न प्रकारका समाचार लगायतका पत्रिकाहरूको अभिलेख राख्ने काम “सूचना विभाग” ले गर्दछ। सूचना विभागको तथ्याङ्क अनुसार नेपालमा अहिले सम्ममा ६,३५० भन्दा बढी पत्रिकाहरू दर्ता भएको रेकर्ड विभागमा छ। विभागको अनुसार कुल पत्र-पत्रिका मध्ये ४०४ दैनिक पत्रिकाहरू, २०६७ साप्ताहिक पत्रिकाहरू रहेका छन् भने १७८९ वटा मासिक पत्र – पत्रिका हरू छन्। यति मात्र पनि कहाँ हो र? सञ्चार को कुरा गर्दा अहिलेको बदलिँदो समयमा देशभर एफ एम रेडियो स्टेसन हरुले पनि त पत्र-पत्रिकाहरुलाई केहि मात्रामा नै भए पनि बिस्तारै विस्थापित गर्ने र तिनका ठाउँ ओगट्दै गएको अवस्था समेत पनि त सर्वविदितै छ। एफ एम रेडियो स्टेसन हरुको कुरा गर्दा पछिल्लो समयमा उपत्यकामा मात्र करिब ३०० भन्दा बढी एफएम रेडियो घन्किन थालेको एक तथ्याङ्क बाट देखिएको छ।

अन्त्यमा

हाम्रो पढ्ने, टिपोट गर्ने जस्ता बानी हरू बिस्तारै रेडियो, टेलिभिजन हरुको कृपाले बिस्तारै छुट्दै गई रहेको कुरा सबैले अनुभव गरेकै कुरा हुन् पर्छ। यही तरिकाले हामीले हेर्ने र सुन्ने मात्र तर लेख्ने वा टिपोट नगर्ने गरेको खण्डमा हाम्रो आफ्नै हातले लेख्ने मात्र नभई आ-आफ्नो भाषा, लिपिहरू, र भाषाको मिठासको साथ साथै व्याकरण समेत बिर्सँदै जाने त हैनौ। यसै कारण पनि लेखक, पत्रकार , श्रव्य -दृश्य पत्रकार, समाचार बाचक, क्यामेरा प्राविधिकहरू तथा प्रेस, सञ्चार-माध्यम अर्थात् यस क्षेत्र आदिका हरेक व्यक्तित्व र सम्पूर्ण तथा हरेक पेसाकर्मीहरूले यस अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आफ्नो पेसा प्रति समर्पित भई यस दिवसको मर्म एक दिनको लागि मात्र नभई सदैका लागि स्थापित गरी यस पेसाको मर्यादा राख्नु पर्ने महत्त्वपूर्ण देखिन्छ।

यस पेसाका हरेक पेसाकर्मीहरूले पत्रकारिता भित्र रहेका विभिन्न क्षेत्र हरूमा सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषण को दौरान ज्यानको समेत पर्बाह नगरी ज्यान हत्केलामा वाजी राख्ने यी पेसाकर्मीलाई नेपाल अनलाइन पत्रिका परिवारको हार्दिक नमन। समाचार र सूचना हामी जनताको अधिकार हो भने प्रेसको सुरक्षा तथा उनीहरूको स्वतन्त्रता हाम्रो दायित्व पनि हो। अन्तरास्ट्रिय प्रेस स्वतन्त्रता दिवसको सम्पूर्ण पाठक अनि लेखक, दर्शक अनि प्रस्तुत कर्ता, श्रोता र वाचक सबैलाई नेपाल अनलाइन पत्रिकाको हार्दिक शुभकामना।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार