‘डराइ–डराइ’ प्रधानमन्त्रीको विरोध गरे गगन थापाले

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार सरकारले गर्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइको विरोध गरेका छन् । तर, विरोध गर्दै गर्दा उनले निकै डराएकोजस्तो भाषा प्रयोग गरेका छन् । उनले प्रस्ट शब्दमा खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेर प्रधानमन्त्रीले गलत काम गरे भनेका छैनन् ।

उनले लेखेका छन् ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।’ थापाले प्रस्ट शब्दमा प्रधानमन्त्रीको यो भनाइ गलत हो भन्नुको सट्टा ‘प्रधानमन्त्रीले भनेकै होइनन् बरु प्रधानमन्त्रीको भनाइ भन्दै पत्रकारले गलत समाचार लेखेका हुन्’ भन्ने आशय व्यक्त गरेका छन् ।

थापाले लेखेका छन् ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कानून २०७५÷६÷२ गतेदेखि लागू भइसकेको छ।

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।

जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ । झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पंक्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरित गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X