कोसीमा भेटियो ओंत, दुई दशकपछि

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ओंत भेटिएको छ । यसअघि कोसीमा गरिएका अनुसन्धानहरुले ओंत भेटिएको उल्लेख गरे पनि तस्बिरसहितको प्रमाणहरु जुटाउन सकेको थिएन ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ओंत भेटिएको छ । यसअघि कोसीमा गरिएका अनुसन्धानहरुले ओंत भेटिएको उल्लेख गरे पनि तस्बिरसहितको प्रमाणहरु जुटाउन सकेको थिएन । बेल्जियमको एन्टवर्प विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेकी बायोलोजिस्ट रमा मिश्रले आरक्षमा ओंत भेट्टाएकी हुन् । उनले लगाएको क्यामेरा ट्र्यापमा ओंत कैद भएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘फिसिङ क्याट’को अध्ययनका लागि लगाइएको क्यामेरा ट्र्यापमा ओंत रेकर्ड भएको हो । अनुसन्धानकर्ता मिश्रले सन् २०१६ देखि कोसीमा ‘फिसिङ क्याट’ सम्बन्धी अनुसन्धान गर्दै आएकी छन् । फिसिङ क्याट बिरालो वर्गमा पर्ने जीव हो जसले माछा, मुसा,चरालगायत सीमसार क्षेत्रमा पाइने जीवहरुको सिकार गर्छ ।

ओंतको मुख्य आहारा माछा हो । ‘मेरो मुख्य उद्देश्य फिसिङ क्याटको अनुसन्धान नै थियो,’ उनले भनिन्,’कोसीमा ओंत पाइन्छ भन्ने त थियो तर फोटोसहितको प्रमाण थिएन । फिसिङ क्याटका लागि भनेर ट्रयाप राखेको थिएँ, फिसिङ क्याटसँगै ओंत पनि भेटियो । म निकै उत्साहित छु ।’

भेटिएको यो ओंत खैरो अर्थात ‘स्मुथ कोटेट ओटर’ हो । आरक्षण क्षेत्रको दक्षिण क्षेत्रको सीमसारमा ओंत भेटिएको अनुसन्धानकर्ता मिश्रले बताइन् । यो स्तनधारी जीव आईयूसीएनले ‘लोप हुन सक्ने’ जीवको सूचीमा राखेको छ भने साइटिसको अनुसूची -१ मा उल्लेख छ ।

पछिल्लो समय कोसीमा ओंत पाइने सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानबाट सुजिता ढकालले पनि अनुसन्धान गरेकी थिइन् तर उनको अनुसन्धानमा ओंतका पाइलाहरु देखिएको उल्लेख भएपनि तस्बिर भने कैद भएको थिएन ।

विगत ३० वर्षदेखि नेपालमा ओंत सम्बन्धी अनुसन्धान गर्दै आएका प्राणीशास्त्रीका प्राध्यापक पारसमणि आचार्यले सन् २००२ मा कोसी क्षेत्रमा गरेको अनुसन्धानमा पनि ओंत भेटिएको थिएन । त्यसअघि पनि कोसीमा ओंत देखिने गरेको बताइएपनि फोटोग्राफिक प्रमाण भने नभेटिएको उनले बताए ।

संरक्षणकर्मी उत्साहित

नेपालमा ओंतको संख्या घट्दै गइरहेको बेलामा कोसीमा ओंत भेटिएपछि संरक्षकर्मी उत्साहित भएका छन् । प्राध्यापक आचार्य कोसीमा ओंत भेटिनाले संरक्षण क्षेत्रमा भइरहेको प्रगति र प्रभाव बताउँछन् । उनी भन्छन्, ‘बासस्थान राम्रो भएसँगै ओंत देखिन थालेका हुन् । कोसी क्षेत्र रामसारमा सूचीकृत पनि हो । यहाँका अन्य सीमसारहरुमा पनि अध्ययन गर्दा नतिजा राम्रो आउन सक्छ ।’

प्राध्यापक आचार्य यसअघि कोसीमा देखिन छाडेका ओंतहरु देखिँदा उत्साह थपिएको बताउँछन् । ‘पहिला पनि कोसीमा ओंत थिए भन्ने थियो ।त्यसबेला तिनको संख्या थोरै थियो भन्ने अनुमान थियो,’ उनले भने,’ बासस्थान सुधार भएसँगै ओंत देखिन थालेका हुन सक्छ । ‘ कोसीका अन्य क्षेत्रमा पनि क्यामेरा ट्र्याप राखेर ओंतको अध्ययन गर्नुपर्ने बताए ।

अनुसन्धानकर्ता ढकालले सरकारीस्तरबाट नेपालमा ओंतको गहन अध्ययन र अनुसन्धान नभएको बताइन् । उनले राष्ट्रियस्तरमा ओंतको खोजी भए राम्रो नतिजा आउन सक्ने बताइन् । ‘कोसीका माझीहरुले ओंत देखेको बताउने गरेपनि फोटोमा कैद भएको थिएन,’ उनले भनिन् ।

पछिल्लो समय कोसी टप्पु वन्यजन्तु आरक्षमा माछा मार्नेलाई लाइसेन्स वितरण, सीमसार क्षेत्रको पुनःस्थापना(रिस्टोरेस) जस्ता कार्यले सीमसारमा आश्रित जीवहरुको संख्या बढेको हुन सक्ने आरक्षका वार्डेन अशोक रामले बताए । कोसी क्षेत्रमा ओंतहरु पहिला देखिने गरेको आफूले सुनेपनि अध्ययन भने नभएको उनको भनाइ छ ।

उनले भने,’ कोसीको बाँध फुटेका ठाउँहरु अहिले राम्रो बासस्थान बनेको छ । त्यहाँका सीमसार क्षेत्रहरु पनि पुनःस्थापना भएको छ । यसले गर्दा यहाँ सीमसारमा आश्रित जीवहरुको संख्या स्वभाविक रुपमा बढ्छ । ‘

उनले सीमसार क्षेत्रको सुधार गरिएको खण्डमा तिनमा आश्रित ओंत, फिसिङ क्याट, अजिंगर, गोहीलगायतका प्रजातिहरुको पनि संरक्षण हुने बताए । आरक्ष क्षेत्रमा झाडी सरसफाइ, जनचेतनामूलक कार्यक्रम, माछामा मार्नमा नियन्त्रणजस्ता कार्यहरु भइरहेको उनले जानकारी दिए ।

आरक्षले वर्षको असोज १ गतेदेखि जेठमासन्तसम्म लाइसेन्स पाएकाहरुका लागि मात्रै माछामा मार्न अनुमति दिने गरेको छ । जथाभावी माछामा मार्दा संख्या घट्ने र त्यसमा आश्रित जीव तथा समुदाय पनि प्रभावित हुने भएकाले अनुमति लिनुपर्ने व्यवस्था गरिएको उनले बताए । असार,साउन र भदौमा माछाको प्रजनन् हुने र आगन्तुक चराहरु पनि आउने भएकाले यी महिनामा माछा मार्न निषेध गरिएको हो । कोसीमा करिब ४ सय परिवार माछा मारेर गुजारा चलाउँछन् ।

को हो ओंत ?

साना स्तनधारी जीव ओंत ३ करोड वर्षदेखि पृथ्वीमा छ । विशेष गरेर दिउँसो र मानिसहरुको भीडभाड नभएको बेलामा यिनीहरु सिकार गर्न निस्कन्छन् । नदी किनारका झाडीहरु यिनको मुख्य बासस्थान हो । ओंतलाई सीमसार र नदी क्षेत्रको स्वच्छ पानीको सूचकको रुपमा लिने गरिन्छ ।

जुलाईदेखि अक्टोबर ‌ओंतको प्रजनन्‌ समय हो । नदीमा ठूलो भंगालोमा हुँदा बच्चाहरुको स्याहारसुसार गर्दै यिनीहरु सानो भंगालोमा बस्छन् । वर्षायाममा पनि यिनीहरु नदीको सानो भंगालो छेउछाउ बस्छन् । एक पटकमा यिनीहरुले २ देखि ४ वटासम्म बच्चा जन्माउने प्राध्यापक आचार्य बताउँछन् ।

ओंतका बच्चा एक वर्षसम्म आमासँगै बस्छन् । तराईका नदी किनार र सीमसारमा पाउने खैरो ओंतको पञ्जा लामो र गोलो हुन्छ भने पहाडमा पाउनेको सानो । पञ्जामा हुने नंग्रा यिनीहरु शिकार गर्न प्रयोग गर्छन् ।

विश्वमा १३ प्रजातिका ओंतहरु पाइने गरे पनि नेपालमा भने ३ प्रजाति पाइन्छन् । तीमध्ये कालो ओंत (युरेसियन ओटर) सन् १९९१ पछि बेगनास र रुपा तालमा भेटिएको छैन र खैरो ओंत १९९८ देखि राप्ती नदी र २०१० पछि नारायणीमा देखा परेका छैनन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको तीनकुने क्षेत्रमा गत वर्षको फागुनमा देखिएका खैरो ओंत । 

नेपालमा ३ प्रकारका पाइने गरेको उल्लेख गरे पनि दुई प्रकारका भेटिएका छन् । कालो ओंत(युरेसियन ओटर), खैरो ओंत(स्मुथ कोटेड ओटर) र सानो ओंत(एसियन स्मल क्लड ओटर) गरेर तीन प्रकारका पाइए पनि हाल नेपालमा कालो र खैरो ओंत मात्रै भेटिएका छन् । कालो ओंतलाई आईयूसीएनले निकट भविष्यमा लोप हुन सक्ने प्रजातिमा राखेको छ भने साइटिसको अनुसूची १ मा कालो र खैरो ओंत र अनुसूची २ मा सानो ओंत छ ।

सानो ओंत हड्सनले मात्रै देखेको आचार्य बताउँछन् । त्यसबेला हड्सनले उक्त ओंत कुनै एक माझीसँग खरिद गरेर नेपालमा पाइने भनेर उल्लेख गरेका थिए । नेपालको तराई क्षेत्रमा भेटिएको उल्लेख गरे पनि कुन ठाउँमा भने हड्सनले नखुलाएको प्राध्यापक आचार्यले बताए ।

नेपालमा यी स्तनधारीहरुको फैलावटको बारेमा धेरै कम अनुसन्धान भएका छन् । पछिल्लो समय नेपालमा खैरो ओंत मात्रै भेटिएको छ । पश्चिम नेपालदेखि बर्दिया राष्ट्रिय निकुञ्जदेखि पश्चिम शुक्लाफाँटा क्षेत्रका सीमसार र नदीमा यिनीहरु पाइएका छन् । निकुञ्जभन्दा बाहिर कैलालीको बन्जाडा तालमा पनि खैरो ओंत भेटिएको छ ।

पछिल्लो समय यो जीव औद्योगीकरण र बासस्थान विनाशका कारण लोप हुँदै गएको छ । यो जीवको मुख्य आहारा माछा हो । माछा नभएको बेला यसले अन्य जीवहरु जस्तै, भ्यागुताका प्रजातिहरु, चराहरु तथा किरालाई खाने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार