बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ

महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन नफेरिएको बताउँछन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा खोजी भइरहेको छ । तर उनी सार्वजनिक मञ्चहरुमा विगतमा झैं प्रखर नभएको गुनासो छ ।

महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन नफेरिएको बताउँछन् । ‘जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन’ उनी भन्छन्, ‘म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि !’

- Advertisement -Poco C3

प्रस्तुत छ, कांग्रेस महामन्त्री थापासँग राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

जनताको पक्षमा प्रखर आवाज उठाउने गगन थापाले कांग्रेस महामन्त्री निर्वाचित भएपछि ‘टोन डाउन’ गरेको हो ?

जुन जिम्मेवारीमा छु, त्यो जिम्मेवारीबाट कार्यसम्पादन गर्दा केही कुरामा ध्यान दिनैपर्ने र केही कुरामा सचेत रहनैपर्ने अवस्था छ । जस्तो– हिजो जनसरोकारका कुनै विषयलाई सार्वजनिक मञ्चबाट होस् अथवा राजनीतिक मञ्चबाट फ्याट्टै उठाइदिए पुग्थ्यो । कतिपय सन्दर्भमा प्रश्न मात्रै उठाइदिए पुग्थ्यो । उत्तर दिइरहन पर्दैनथ्यो किनकि बहस गराइदिने जिम्मेवारी थियो ।

महामन्त्री भएपछि कुनै विषय प्रश्न हो भन्ने लाग्दा पार्टीकै प्रश्न बनाउनुपर्नेछ । मैले कुनै प्रस्ताव गर्छु भने त्यो पार्टीकै प्रस्ताव हुनुपर्नेछ । अहिले पनि मेरो दिमागमा दर्जनौं प्रश्न छन् । जस्तो– भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गर्ने अभिव्यक्ति दिनुभयो । यसबारे नेपाल सरकारको ‘पोजिसन’ तत्काल देखिनुपर्छ ।

भारतसँग यो विषय राख्नुपर्छ, नेपाली जनतालाई आश्वस्त पार्नुपर्छ भन्ने छ । हिजो यो विषयमा नेपालका प्रधानमन्त्री बोल्नुपर्छ भनिदिए पुग्थ्यो । आज मेरै पार्टी सभापतिले सरकार चलाइरहनुभएको छ, उहाँलाई यो विषयमा बोल्ने बनाउनु परेको छ । त्यहाँसम्म पुग्न अलिकति समय लाग्ने रहेछ, अलि पेचिलो पनि हुने रहेछ ।

मेरो पोजिसन भने फेरिएको छैन । जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन । प्रश्न गर्ने ठाउँबाट उत्तर दिने वा दिलाउने ठाउँ नजिक पुगेको हुँदा तरिका बदलिने भयो । काम गर्ने तरिका बदलिंदा थोरै अल्मलिएको पनि हुँला ।

मेरो सभापति प्रधानमन्त्रीको भूमिकामा भए पनि म पार्टीको महामन्त्री मात्र हुँ, सरकारको मन्त्री होइन । जनताको कुरा सरकारलाई कसरी सुनाउने भन्ने सोचिरहेको छु । अर्का महामन्त्रीसँग पनि छलफल गरिरहेको छु ।

गगन थापाको हिजोको स्पेस अब पनि कायमै रहन्छ कि अरु कसैले लिनुपर्ने भयो ?

म नयाँ ठाउँमा गइसकेपछि त्यो स्पेस अरुले लिंदा नै सबैलाई सजिलो हुन्छ । त्यो स्पेस अरु कसैले लिइदेओस्, त्यहाँबाट कसैले प्रश्न उठाओस्, जनदबाव सिर्जना गरोस्, जसले म लगायतलाई परिणाम दिन प्रेरित गरोस् । कुरा उठेको छ, तत्काल समाधान दिनुपर्छ है भन्नका लागि पनि त्यो स्पेस अरु कसैले लिइदियोस् भन्ने चाहन्छु ।

हिजो तपाईंले प्रश्न उठाउँदा जवाफ नआउने बढी हुन्थ्यो, अब ?

आज ठाउँ (महामन्त्री पद) मा पुगेको छु, त्यो ठाउँमा मभन्दा अगाडि जिम्मेवारी बोकेर बस्नुभएका नेताहरुको सबल पक्षबाट सिक्छु नै, तर जुन सीमाभित्र बसेर सीमित प्रभावकारिता रह्यो, त्यसलाई पनि बदल्न चाहन्छु । पार्टीको महामन्त्री भएँ, अब केही पनि बोल्न हुन्न, चुप बस्नुपर्छ भन्ने कुरै होइन ।

फरक कति भने हिजो प्रश्न उठाउँदा पुग्ने भूमिका थियो, अब टुंगोमा पुर्‍याउनु पनि पर्छ । जस्तो, सरकारसँग पार्टीको अपेक्षा के–के छन् भनेर लिखित रुपमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न दुई महामन्त्रीले काम गरिरहेका छौं ।

कांग्रेसमा तपाईं र अर्का महामन्त्रीको जितका कारण उत्सव जस्तो अवस्था देखियो, त्यो बोध छ ?

एकदमै छ ।

के हो त्यो बोध ?

राज्य सञ्चालनमा असंवेदनशीलता, अयोग्यता, सुस्तता जे–जे देखिए, यी सब दलहरुको चरित्रको प्रतिबिम्ब हो । दलहरुभित्र सुधार भयो भने राजकीय जिम्मेवारीमा बस्नेहरुको व्यवहारमा बदलाव आउँछ, नागरिकले लाभ पाउँछन् । त्यसैले कांग्रेसभित्र सुधार आउँदा खुशी भएको अर्थमा बुझेको छ ।

हामी पार्टीभित्र सीमित रह्यौं भने यो उत्साह निराशामा परिणत हुन्छ । पार्टीलाई विधिसम्मत बनाउने विषयमा हामीले ठीक गर्‍यौं, तर नागरिकको जीवनमा फरक ल्याएनौं भने अहिलेको उत्साहको केही अर्थ हुन्न भन्नेमा म सचेत छु ।

कांग्रेसको सभापति पछिको कार्यकारी पद महामन्त्रीमा गगन थापा पुगेको अनुभूति अब हुन्छ त ?

पार्टीभित्र पाएको म्याण्डेटबाट म उत्साहित छु । सँगै दबावमा पनि छु । पार्टी पंक्तिलाई खुशी बनाउन सजिलो छ । यत्रो वर्षदेखि काम गर्दै आएको हुनाले कस्ता कुराले पार्टीका साथीहरुलाई उत्साहित बनाउन सकिन्छ भन्ने थाहा छ । तर तपाईंले सोध्नु भए जस्तै कांग्रेसमा हामी चुनिएर आउँँदा आम मान्छेमा देखिएको उत्साह कायय राख्नु बढी महत्वपूर्ण हो ।

तर सर्वोच्च अदालत लगायतको मुद्दाका सन्दर्भमा तपाईंको पहिलेको गतिमा गेयर घटेको अनुमान गरिंदैछ । यसले त्यो उत्साहलाई निराशामा बदल्दैन ?

गेयर घटाएको होइन भन्ने मेरो दाबी छ । किनकि महामन्त्रीको जिम्मेवारी औपचारिक रुपमा लिएको जम्मा १५–१६ दिन भयो । अदालत, गठबन्धन, संसदकाे गतिरोध, सीमा लगायत यो अवधिका जल्दाबल्दा विषय भए ।

अझ महत्वपूर्ण, कोरोना महामारीमा नागरिकको जीवनरक्षा र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायत विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न थालेका छौं । यसमा केही समय लाग्छ । किनभने नयाँ भूमिकामा आएका छौं, कसरी काम गर्ने भन्नेमा केही अलमल छ ।

पहिलो पटक स्वास्थ्यमन्त्री हुँदा एक–डेढ महीना यस्तै अलमल भएको मलाई याद छ । देखिने गरी आजै काम शुरु गर्नुपर्ने, प्रमाणित भइहाल्नुपर्ने दबाव त्यो बेला पनि थियो । तर, मैले केही समय लिएँ अनि आलोचना पनि खेपें । त्यसबाट कार्य सम्पादनमा सहयोग नै पुग्यो ।

लुकाउने कुरा छैन, अहिले पनि केही समय लिन्छु । म सभापतिले छानेको महामन्त्री हैन, न उहाँ मैले मत हालेको सभापति । र पनि, काम त सभापतिसँगै गर्नुपर्नेछ । सहकार्य, सम्बन्धको कुरा महत्वपूर्ण छ ।

कतिपय विषयमा मत मिल्दैन, मत नमिलेको अवस्थामा पनि सम्बन्धलाई धेरै टाढा हुन नदिने कसरी होला ? यस्ता थुप्रै कुरामा मैले आफैंलाई तयार पार्नुपर्नेछ । त्यसैले केही समय त लाग्छ, तर म सम्हालिन्छु ।

पदीय संरचनाले पनि थिच्दो रहेछ ?

अँ, थिच्दोरहेछ ।

हिजो प्रतिनिधिसभा विघटन हुँदा न्यायालयको चार किल्लाभित्र न्याय नमरोस् भन्दै सडकबाट आवाज उठाउनुभयो । न्यायपालिकामा आज पनि उही विवाद छ । संविधान र नागरिकमाथि अन्याय कायम रहे जस्तो लाग्दैन ?

एकदमै लाग्छ । नेपालको न्यायालयको आज जुन अवस्था छ, यसमा दलहरु पञ्छिन पाउँदै पाउँदैनन् । अदालतमा अहिले जे भइरहेको छ, यसले संविधान कार्यान्वयन भएर देश सहज रुपमा अगाडि बढ्ने कुरामै फरक पार्छ ।

यो अवस्थामा सरकार चलाइरहेको दलहरुले पन्छिएर त्यहीं (अदालतभित्रै) मिल भन्न मिल्दैन । कांग्रेसले गठबन्धनका दलहरुसँग सम्वाद गरेर कठोर निर्णय गर्नुपर्छ । शुद्धीकरणका लागि पनि न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ भन्ने मलाई लागेको छ ।

हिजो यही कुरा मेरो पोजिसनबाट राख्दै आएको हो । अब यसलाई कांग्रेसको पोजिसन बनाउनुपर्नेछ । मैले बोलेर मात्रै कांग्रेसको पोजिसन बन्दैन । कि नेतृत्व ‘कन्भिन्स’ हुनुपर्‍यो कि त पार्टीभित्र यति ठूलो दबाव सिर्जना गर्नुपर्छ कि त्यसबाट कन्भिन्स होस् । अहिले नेतृत्वसँग कुरा गरिरहेका छौं । यदि नेतृत्वले नमाने कसरी अगाडि बढ्ने भनेर घोत्लिरहेको छु ।

हिजो लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर उभिने तीन सांसदमध्ये तपाईं एक हो । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउने चुनौती दलहरुलाई होला नि ?

यो विषयमा साथीहरुसँग निरन्तर छलफल भइरहेको छ । हिजो सांसदको वैयक्तिक अधिकार प्रयोग गरेर सार्वजनिक मञ्चहरुमा यो प्रश्न उठाएँ । हामी तीन जना (गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठ) ले अख्तियारका तत्कालीन प्रमुखलाई महाअभियोग लगाउनुपर्छ भनेर निवेदन दियौं ।

संसदमा बहस त भएन । तर हाम्रो निवेदनले राजनीतिक विमर्श सिर्जना गरेको थियो । हिजो मैले त्यो भूमिका खेले पुग्थ्यो, आज प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्छ भन्ने लाग्छ भने पार्टीको पोजिसन बनाउनुपर्छ । पार्टीको पोजिसन बनेन भने के गर्ने ? यस्ता प्रश्नमा घोत्लिरहेको छु ।

जनताका लागि पोजिसन बनाउने कांग्रेस महामन्त्री बन्छ गगन थापा ?

जुन कुरा ब्रह्मले ठीक देख्छ, जनताको पक्षमा छ भन्ने लाग्छ, त्यस्ता विषय वर्षौंदेखि सार्वजनिक मञ्चमा उठाएको छु । पार्टी नेतृत्वमा दबाव सिर्जना गरेको छु । कहिले ६ महीना, कहिले एक वर्ष त कहिले दुई वर्षमा पार्टी त्यो पोजिसनमा पुगेको छ । यस्तो राजनीतिमा म अभ्यस्त भएँ ।

आज (महामन्त्री भएपछि) हिजो जस्तै सडकमा गएर भन्ने, नेतृत्वलाई दबाव सिर्जना गर्ने भन्दा फरक ठाउँमा आइपुगेको छु । गर्ने चाहिं फेरि त्यही हो, तर गर्ने कसरी भन्ने चाहिं मेरो लागि पनि नौलो छ ।

कांग्रेसलाई पनि महामन्त्रीले थिचेको होइन, त्यो पद बोकेर हिंड्ने गगन थापा चाहिएको छ, होइन ?

म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि ! त्यसैले मैले महामन्त्रीको जिम्मेवारी पूरा गर्दै पहिला जस्तै जनताको पक्षमा उभिने काम पनि गर्नुछ । कांग्रेसलाई उदार लोकतन्त्रमा विश्वास गर्ने नागरिक पंक्तिको अपेक्षा पूरा गर्ने पार्टी बनाउनुछ ।

७७ वर्षका सभापतिसँग मिलेर त्यो अपेक्षा पूरा गर्नेमा ढुक्क हुनहुन्छ ?

यसअघि पनि प्रतिकूलताहरु चिर्दै आएको हो, अहिले पनि अरु विकल्प छैन । सजिलो पनि छैन । पार्टी सभापतिको अनुभव, बुझाइ र राजनीति गर्ने एक खालको शैली छ । हामी नयाँ आयौं, उहाँका लागि त सभापति पनि पुरानै पद हो ।

अघिल्लो पटक जस्तै पार्टी सभापति हो उहाँ । उहाँलाई नयाँ केटा आएका छन्, बढी उत्साह होला भन्ने पनि लाग्दो होला । हामी नयाँ ढंगले गर्न चाहने नै भयौं । यो एउटा चुनौती भइहाल्यो ।

अर्को यत्रा साथीहरुले विश्वास गरेर महामन्त्री बनाउनुभएको छ, तर पार्टीमा पुराना नेताहरुको ठूलो पंक्ति छ । कोही केन्द्रीय समितिभित्र र कोही बाहिर हुनुहुन्छ । उहाँहरुलाई सँगै लिएर हिंड्नुपर्छ । मसँग महामन्त्रीय शक्ति छ, मैले भन्दिए हुन्छ भनेर बेवास्ता गरें भने मैले चाहेको परिणाम पाउन्न ।

कांग्रेसमा ठूलो पंक्ति यथास्थितिवादी छ । सभापतिलाई त्यही पंक्तिले भने जस्तो गर्न सजिलो लाग्दो हो । नयाँ महामन्त्रीद्वयमा यो कारण पनि अलमल भएको हो ?

महाधिवेशनको परिणामअनुरुप व्यवहार गर्न सभापतिलाई केही समय लाग्न सक्छ । सभापतिभन्दा बाहिरका नेता गणलाई पनि केही समय लाग्ला । हाम्रा लागि पो यत्रा साथीले विश्वास गरेर जिम्मेवारीमा आयौं भन्ने छ, सभापतिमा त हिजोकै निरन्तरता छ ।

त्यसले अरु केहीलाई पनि आफ्नो निरन्तरता भन्ने लाग्ने भयो । जिम्मेवारीमा नयाँ केटाहरु आए, तर पार्टी चलाउने हामीले नै हो भन्ने लाग्न सक्छ । यसलाई चिरेर जानुपर्नेछ ।

जिम्मेवारीमा मात्र होइन, कांग्रेसको नयाँ सोच बनाउने ठाउँमा नयाँ मान्छे आएका हो । अब हाम्रो सोचलाई पार्टीको सोच बनाउनुपर्नेछ । हाम्रो सोच पार्टीको सोच नहुने, नेताहरुको हिजोकै समूहको सोच नेताको हुने र हामीले त्यसको कार्यान्वयन मात्र गर्ने हो भने केन्द्रीय सदस्य हुनुभन्दा के फरक भयो र !

महाधिवेशनको निर्वाचन परिणाम मननमा नेताहरुलाई समय लागेको छ ?

महाधिवेशन परिणामलाई सभापतिले बुझिदिनुपर्छ भन्ने अपेक्षा हो, बाहिर सुनिए जस्तो असन्तुष्टि होइन । किनकि सबैभन्दा बढी अपेक्षा गर्ने ठाउँमा सभापतिलाई उभ्याएको छ ।

अभूतपूर्व मत पाएर आउनुभएका उहाँका लागि यो अन्तिम इनिङ पनि हो । महाधिवेशनले नयाँ केटाहरुलाई पनि ठूलो जिम्मेवारी दिएर पठाएको छ । यिनीहरुको कुरा सुन्न सभापति तयार भए धेरै सजिलो हुन्छ ।

बाहिरबाट हेर्दा निर्णय प्रक्रियामा हिजोको पात्र–प्रवृत्ति हावी हुने, निर्णयहरु पनि पार्टीको वक्तव्य मार्फत थाहा हुने, राष्ट्रिय मुद्दाहरुमा हिजो जस्तै हुने जस्तो देखिन्छ नि ?

महाधिवेशनले पार्टी सभापतिलाई राष्ट्रिय राजनीतिमा पार्टी कहाँ उभिने ? पार्टी कसरी चलाउने ? जस्ता विषयमा धारणा बनाउँदा यी मानिस (नयाँ पदाधिकारी) पनि सँगै हुनुपर्छ है भन्ने सन्देश दिएको छ । पार्टीको सोच बन्ने ठाउँमा यिनीहरुलाई पनि राख है भनेको छ ।

हामीलाई पनि तिमीहरुले मात्र पुग्दैन, सभापतिसँग बस्नुपर्छ भनेको हो । त्यसैले त मिश्रित नतिजा आयो । यो सहजतापूर्वक हुन्छ भन्ने थियो, तर भइरहेको छैन । यसलाई धेरै अस्वाभाविक पनि मानेको छैन, किनभने भर्खरै त छ ।

हाम्रो अपेक्षा, सभापतिले सबैसँग सहकार्य गर्ने, पार्टीभित्र न्यायको अनुभूति दिलाउने र तत्कालीन राष्ट्रिय राजनीतिमा निर्णायक बन्ने मात्र होइन, महाधिवेशनको म्याण्डेटअनुसार कांग्रेसको अबको बाटो (सोच) मा हिंड्नु हुनेछ भन्ने हो । किनकि विधान बमोजिम महामन्त्री भनेको पार्टीको राजनीतिक कार्यक्रमको प्रस्तावक हो । दुवै महामन्त्री बिल्कुलै फरक ठाउँबाट आएका छौं ।

हामी कांग्रेसले सोच्ने सोचमा सभापतिको अंग हुन चाहन्छौं । कहिलेकाहीं उहाँले हामीलाई प्रभावित बनाउनुहोला, कहिले हामी उहाँलाई प्रभावित बनाउँछौं । तर अहिलेसम्म हामी त्यसभित्र पस्न पाइसकेका छैनौं । यसमा केही समय लाग्ला ।

हिजो जसरी निर्णय हुन्थ्यो, त्यो शैली स्वीकार्नुहुन्न ?

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा कांग्रेस जसरी उभिंदै आएको छ, यो बदल्ने संकल्प गरेर हामी अनुमोदित भएका हौं । यथास्थितिमा आफू रम्ने र अरुलाई रम्न दिने सुविधा हामीलाई छैन ।

तपाईंकै भाषामा, मत मिले सहकार्य नमिले संघर्ष ?

पार्टीभित्र त्यस्तो ध्रुवीकरण र संघर्षको स्थिति नआओस् भन्ने कल्पना गर्छु । त्यो स्थिति नआओस् भन्नका निम्ति काम पनि गर्छु । मेरो र पार्टीका सबै साथीको चाहना मुख्य नेतृत्वसँग हार्दिकता र सहकार्य होस् भन्ने नै हो ।

सामूहिक नेतृत्वप्रति धेरै ठूलो अपेक्षा छ । सामूहिक नेतृत्व भनेको बाँडफाँट होइन, पार्टीले के सोच्छ, त्यसमा सबैको श्रेय होस् भन्ने हो । सम्वादबाट पार्टी कहाँ उभिने भन्ने तय होस्, हामी सबैले अपनत्व लिन सकियोस् भन्ने हो ।

पार्टीको निर्णय एकातिर, हामी अर्कोतिर हुने अवस्था नआओस् भन्ने सबै साथीको चाहना छ । त्यहीअनुसार अन्तिम विन्दुसम्म सहकार्य नै गर्ने हो । शुरुआत छ, निराश वा नकारात्मक हुन पनि चाहन्न ।

केन्द्रीय सदस्य मनोनयनदेखि राष्ट्रियसभा चुनावको उम्मेद्वार तय गर्दासम्मका गतिविधिले कांग्रेसभित्र संघर्ष शुरु भएसकेको संकेत गर्दैन ?

हामीले समूह नै बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गर्‍यौं । निर्वाचित भएका हामी केही साथीबीच उम्मेदवार भएका सबै एक ठाउँमा बसेर समीक्षा गरौं भनेर सल्लाह भयो । त्यो बेलासम्म राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन र केन्द्रीय सदस्य मनोनीत भइसक्ने पूर्वानुमान थिएन ।

हाम्रो बैठक अलि अगाडि भएको भए वा केन्द्रीय मनोनयन र राष्ट्रियसभाको उम्मेदवार चयन नभएको भए महाधिवेशनकै समीक्षा हुन्थ्यो होला । तर मनोनीत र उम्मेदवार चयन भएकाले केही छलफलका विषय बने ।

म अहिले पनि कसरी सोच्छु भने सभापति सिंगो पार्टीको नेतृत्व गरेर कांग्रेसलाई नयाँ ठाउँमा लैजाने म्यान्डेटसहितको अवसर लिएर आउनुभएको छ । त्यसको समुचित प्रयोग होस् ।

सभापतिसँग हाम्रो यो अपेक्षा हो । हामीलाई भाग चाहिएन, तर सँगै लिएर जानुहोस् । सँगै काम गर्न चाहन्छौं । आगामी दिनहरुमा सँगै हिंडाउनुहोस् भनेर भनिरहेका छौं । त्यो अवस्था बन्छ भन्ने नै छ ।

सर्वोच्च अदालतको संकट, गठबन्धनप्रतिको धारणा जस्ता विषयमा फरक दृष्टिकोण देखिन थालिसक्यो त ?

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेसभित्र निर्वाचनमा जाने कि विघटन असंवैधानिक भनेर लड्ने भन्ने दुईखाले धारणा थियो । मेरो लागि त्यो नयाँ अनुभव होइन, राष्ट्रिय राजनीतिबारे पार्टीभित्र फरक मत भएको दर्जनौं मध्ये एक थियो । नेपाली कांग्रेसको सबल पक्ष पनि त्यही हो भन्ने लाग्छ ।

तर यस्ता कुराको व्यवस्थापन हुन नसक्दा पार्टीले दुर्घटना पनि बेहोरेको छ । त्यो सबैबाट सिक्नुपर्छ । पार्टीमा फरक मतलाई सहज रुपमा प्रकट हुन दिनुपर्छ । तर छलफलबाट एउटा निचोड निकालेर जाँदा त्यसमा सबैको अपनत्व रहन्छ । नत्र दुर्घटना हुन्छ । यसमा नेतृत्व सचेत रहनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App