नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौताअनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्न लागेको हो ।
क्यान र रोयलबीचको सम्झौताअनुसार नेपाली टोलीलाई हरेक वर्ष १० दिन अस्ट्रेलिया भ्रमण गराइनेछ । क्यानका अनुसार सम्झौताअनुसार नेपाली टोलीले भ्रमणको तयारी गरिरहेको छ । नेपाली टोलीले अस्ट्रेलियाको स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अफ सिजनमा नेपाली टोलीले अस्ट्रेलियामा म्याच एक्सपोजरका रूपमा प्रतिस्पर्धा गर्न लागेको हो ।
अस्ट्रेलियाको ए टोली सेप्टेम्बर महिनामा व्यस्त रहने सम्भावना छ । नेपालको प्रयास अस्ट्रेलियन ए टोलीसँग पनि खेल्ने हुनेछ । नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय ४ जुलाई र दोस्रो एकदिवसीय ५ जुलाईमा हुनेछ ।
नेपालले १ जुलाईमा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्यान्डमा घरेलु टोली स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ ।
नेपाललाई आगामी वर्ष भारतमा हुने आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न र एकदिवसीय मान्यता रक्षा गर्न लिग २ मा बाँकी खेलमा उत्कृष्ट नतिजा निकाल्नु पर्नेछ ।
तालिकामा नेपालले १६ खेलमा १५ अंक जोडेको छ । नेपालले अहिलेसम्म सात जित, आठ हार र एक खेलमा टाई नतिजा निकालेको छ । नेपाल अहिले पाँचौँ स्थानमा छ । नेपाललाई सीधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । शीर्ष तीन स्थानमा नरहँदा नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।